“र”संगको बार्ता बारे प्रधानमन्त्रीको चर्को आलोचना
काठमाण्डौं ९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति भारतको खुफिया एजेन्सी रिर्सच एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई भेटेकोमा सत्तारूढ नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले गोयल आउनुभन्दा अघि र आइसकेपछि पनि पार्टीलाई यसबारे कुनै जानकारी नदिएको बताएका छन् ।। गोरखा र चितवनको भ्रमणबाट काठमाडौं फर्किएपछि आफूले प्रधानमन्त्री ओली र गोयलबीचको भेटबारे जानकारी पाएको उनको भनाइ छ ।
यसबिचमा भारतको गुप्तचर सँस्था “र” प्रमुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोलीसहित नेपाल आएर हाम्रा प्रधानमन्त्रीसँग वार्ता गरेर फिर्ता भएछन्,ु श्रेष्ठले भनेका छन,“प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थितिबिना उनलाई भेट्नुभएछ । हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्वजानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन ।” विदेशी गुप्तचरका प्रमुखसँग बिना कुनै पूर्वकार्यसूची नेपालका प्रधानमन्त्रीले भेटेको यो पहिलो घटना भएको श्रेष्ठले बताएका छन् ।
“मेरो विचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादा विपरीत समकक्षीझैं औपचारिक वार्ता गरेको” उनले लेखेका छन्, “नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कूटनीतिक मर्यादाअनुरूप शिष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।”
विदेशी सरकार प्रमुखले औपचारिक रूपमा आफ्नो विशेष दूतका रूपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि नदेखिएको श्रेष्ठले उल्लेख गरेका छन् ।
“त्यसैले गम्भीर प्रश्न उठ्छ,विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कूटनीतिक मूल्य र आचारसंहिता विपरीतको यस्तो भेट किन ?,” उनले भनेका छन्, “यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कूटनीतिक ओज गिर्नेमात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।”
गत बुधबार भारतीय वायु सेनाको जहाज चार्टर्ड गरेर काठमाडौं आएका गोयलले त्यही राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वार्ता गरेका थिए । प्रधानमन्त्रीको सचिवालयले उक्त भेटवार्ताको औपचारिक जानकारी बिहीबार गोयल दिल्ली फर्किसेकपछि मात्र दिएको थियो ।
प्रधानमन्त्री ओली र गोयलबीचको भेटबारे श्रेष्ठबाहेक नेकपाका अरू सचिवालय सदस्यले भने औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।