विजयादशमीको टीका लगाउने साइत बिहान १०ः१९ बजे
भद्रपुर ९ कात्तिक । विजयादशमी पर्व कात्तिक १० गते सोमबार परेको छ । यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले बताउनु भएको छ । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ ।
टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गरिन्छ ।
कात्तिक १४ गते शुक्रबार विधिपूर्वक गरिने सबै बलिपूर्तिको कर्म गर्नुपर्छ । कोजाग्रत पूर्णिमा पनि कात्तिक १४ गते शुक्रबारकै दिन परेको छ । त्यस दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिन्छ । महालक्ष्मीको विशेष आराधना गर्ने भक्तजनले कोजाग्रत पूर्णिमाको व्रत बस्ने गर्छन् ।
चन्द्रमास अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व यस वर्ष अधिकमास अर्थात् मलमासका कारण कात्तिक १ गतेदेखि शुरु भयो ।