बजार बन्द गराउन नेपाली सेना परिचालन

काठमाडौँ ५ कात्तिक । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो ।

महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउने गरेका छन् । व्यापारीले भने सुरक्षाकर्मीलाई छलेर व्यापार गर्ने गरेका छन् । मङ्गलबार प्रमुख जिल्ला अधिकारी पोखरेल, सुरक्षा अधिकारीहरुले पनि बजार क्षेत्रको अनुगमन गरेका थिए ।

महाकली नगरपालिकामा कोरोनाको सङ्क्रमण फैलिरहेका बेला बजार क्षेत्र निर्वाधरूपमा खुला हुँदा झन् जोखिम बढ्ने प्रजिअ पोखरेलले बताए । आज मात्र नगरपालिकाका ५० जनामा कोरोना देखिएको छ । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २५० नाघेको छ ।