गौरीगंज गाउँपालिकाले शिक्षक तथा कर्मचारीलाई नगद राहत
गौरीगंज ३ कात्तिक । गौरीगंज गाउँपालिकाले गाउँपालिका भित्र रहेका निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई राहतस्वरूप नगद रकम वितरण गरेको छ ।
कोरोना भाईरसको संक्रमण कारण चैत ११ गतेदेखि लगाईएको लकडाउनले बन्द रहेका निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई शिक्षा शाखा गौरीगंजले राहत स्वरूप प्रतिव्यक्ति ३ हजारका दरले राहत स्वरूप नगद रकम वितरण गरेको हो ।
गौरीगंज गाउँपालिका भरिका १७ वटा निजी विद्यालयका २६२ जना शिक्षक, कर्मचारी, चालक, सहचालकलाई राहत वितरण गरेको शिक्षा शाखाका अधिकृत सुशिल दाहालले जानकारी गराए ।
कार्यालयले कोरोना भाईरसको संक्रमणका कारण लगाईएको चैत ११ गते देखि लडडाउनबाट नराम्रोसंग शिक्षा क्षेत्र पनि प्रभावित भएकोले त्यस क्षेत्रको निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राहत वितरण गरिएको हो । शिक्षा समितिका संयोजक दिपिन्द्र थापाले आईतबार गाउँपालिकामै निजी विद्यालयका प्रिन्सिपलहरूलाई बोलाई विद्यालयले उपलब्ध गराएको कार्यरत शिक्षक र कर्मचारी विवरण अनुसार एकमुष्ट प्रति ३ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए । गाउँपालिकाले गत आर्थिक वर्षमा निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई राहतका लागि ८ लाख रूपैयाँ बजेट छुट्याएको थियो ।