कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने

काठमाडौं २ कात्तिक । कोरोना भाइरस कोभिड १९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने जनाएको छ । अरू नागरिकहरूले आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने सरकारको निर्णय छ ।

तर विपन्न वर्ग तथा अति अशक्तको कोरोना परीक्षण तथा उपचार भने सरकारले गर्ने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो ।

आजैदेखि लागू हुने गरी स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतको उपचारमा पनि यदि कोरोना बीमा गरेको छ भने बीमाबाटै खर्च गर्ने निर्णय भएको उनले बताए ।

विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरू, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्र्मी, सरसफाइकर्मी कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरूमा लक्षण वा चिन्ह देखिएमा परीक्षण र उपचार निस्शुल्क गरिनेछ,’ प्रवक्ता गौतमले भने, ‘तर उल्लेखित व्यक्तिले कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बीमाबाट बेहोरिनेछ ।’

डाक्टर गौतमका अनुसार अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिकै आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ ।‘यो आजैदेखि भर्ना तथा परीक्षण हुनेमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल र प्रयोगशालामा लागू हुनेछ,’ उनले भने ।

उनले, कोरोनाको उपचारका लागि रेन्डिसिभिर औषधि मन्त्रालयमा सूचीकृत अस्पतालहरूको फार्मेसीबाट विक्री वितरण गर्ने व्यवस्था पनि भएको बताए ।