सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्न रोक

काठमाडौं ३० असोज । गृह मन्त्रालयले दशैंको बेला मन्दिर तथा शक्तिपीठहरु नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भींडभाड हुँदा कोभिड १९ संक्रमणको जोखिम झनै बढ्ने भएकाले भक्तालुहरुका लागि रोक लगाइएको बताए । तर नित्य पूजाआजा भने नियमित रुपमा सूचारु गर्न सकिने उनले बताए ।

मन्दिरमा भिडभाड नगर्न स्वास्थ्य मन्त्रालयले समेत आग्रह गरिरहेकाले त्यसको कार्यान्वयनका लागि गृह मन्त्रालयले सहयोग गर्ने उनले बताए । महान चाड बडादशैंको बेला विभिन्न शक्ति पीठहरुमा विशेष पूजाआजा गरिन्छ भने धेरै संख्यामा भक्तालुहरु पुग्ने गर्छन् । त्यसैले मन्दिरहरुमा हुनसक्ने भिडभाडलाई ध्यान दिदै सरकारले नियमित पूजाआजा बाहेकका सबै धार्मिक र सांस्कृतिक गतिविधि गर्नमा रोक लगाएको हो ।