एकल महिलालाइ सामाजिक सुरक्षा भत्ता वितरण
भद्रपुर २९ असोज । सहारा नेपाल गौरीगंज सेवा केन्द्रले ८ हजार रूपैयाँका दरले ८ जना एकल महिलालाई बुधबार भत्ता वितरण गरेको हो । त्यसैगरी काकँडभिट्टामा १६ जना एकल महिलालाई १ लाख २८ हजार र एक जना जेष्ठ नागरिकलाई ६ हजार ५ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
विगतका वर्षहरुदेखि नै सहारा नेपाल साकोसको बार्षिक कार्यक्रम अनुसार एकल महिला, एकल पुरुष, पूर्ण स्थायी शारीरिकरुपमा अशक्त तथा अपाङ्ग, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको र यसवर्ष पनि त्यही कार्यक्रमलाई निरन्तरता दिइएको सहारा नेपाल साकोस गौरीगंज सेवा केन्द्रका प्रमुख धर्मराज अधिकारीले बताए ।
सहारा नेपाल साकोसले ५८ बर्ष नाघेका एकल पुरुषलाई जनही छ हजार, पूर्ण स्थायी शारीरिकरुपमा अशक्त तथा अपाङ्गता भएकालाई जनही १० हजार, एकल महिलालाई जनही आठ हजार, ६५ बर्ष नाघेका ज्येष्ठ नागरिकलाई जनही छ हजार, ७० बर्ष नाघेका ज्येष्ठ नागरिकलाई जनही आठ हजार र ८१ बर्ष नाघेका ज्येष्ठ नागरिकलाई जनही १० हजार रुपैयाँ प्रदान गर्दै आएको सहारा नेपाल साकोसका गौरीगंज प्रमुख अधिकारीले बताए ।
साकोसले यसवर्ष सामाजिक सुरक्षा भत्ता वापत छ सय ९५ जनालाई ५३ लाख ७६ हजार रुपैयाँ वितरण गरेको उनले जानकारी दिए । जस अनुसार, सामाजिक सुरक्षा भत्ता वापत पाँच सय १० जना एकल महिलालाई जनही आठ हजार रुपैयाँका दरले ४० लाख ८० हजार रुपैयाँ , ५८ बर्ष नाघेका छ जना एकल पुरुषलाई जनही छ हजार रुपैयाँका दरले ३६ हजार रुपैयाँ , पूर्ण स्थायी शारीरिकरुपमा अशक्त तथा अपाङ्गता भएका दुई जनालाई जनही १० हजार रुपैयाँका दरले २० हजार रुपैयाँ , ६५ बर्ष नाघेका ९८ जना ज्येष्ठ नागरिकलाई जनही छ हजार रुपैयाँका दरले पाँच लाख ८८ हजार रुपैयाँ , ७० बर्ष नाघेका ६९ जना ज्येष्ठ नागरिकलाई जनही आठ हजार रुपैयाँका दरले पाँच लाख ५२ हजार रुपैयाँ र ८१ बर्ष नाघेका १० जना ज्येष्ठ नागरिकलाई जनही १० हजार रुपैयाँका दरले एक लाख रुपैयाँ प्रदान गरिएको उनले जानकारी गराए । यस वर्ष कोभिड १९ का कारण धेरैजसो शेयर सदस्यहरूको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।
गौरीगंज सेवा केन्द्रका सहयोग उपसमिति संयोजक भोला प्रसाद खतिवडा, सदस्य चुडा बहादुर भुजेल, महिला सदस्य देविमाया खतिवडा, दुधेका प्रमुख चुडामणि कट्टेल, केन्द्रीय कार्यालयका तेजनारायण गौतम र खड्ग प्रसाद पौडेललगायतले सामाजिक सुरक्षा भत्ता वितरण गरेको गौरीगंज सेवा केन्द्रका प्रमुख धर्मराज अधिकारीले जानकारी गराए ।