विश्वको सबैभन्दा प्रतिष्ठित फोटोग्राफी

एजेन्सी

बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरले विश्वको सबैभन्दा प्रतिष्ठित फोटोग्राफी पुरस्कार पाएको छ । साइबेरियाको जंगलमा मन्चुरियन फर नामक पुरानो रूखलाई बघिनीले अँगाल्दै गरेको तस्बिर खिच्ने फोटोग्राफरले पुरस्कार पाएका हुन् । यो तस्बिर खिच्ने रूसी फोटोग्राफर सर्जे ग्रोशकोभ हुन् । उक्त तस्बिरको लागि उनले “वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२०” पाएका छन् । लन्डनको नेचुरल हिस्ट्री म्युजियममा भएको एक समारोहमा डचेज अफ क्यामब्रिजले उक्त पुरस्कार दिएको हो ।

सर्जेले बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिर सजिलै भने लिएका थिएनन् । उनलाई उक्त तस्बिर कैद गर्न ११ महिना लागेको द गार्जियनले जनाएको छ । यसको मतलब उनी ११ महिनासम्म त्यही ठाउँमा बसिरहेका भने होइनन् । उनले सो ठाउँमा आफ्नो क्यामेरा सेटअप गरी छाडेका थिए बाघ तथा अन्य जनावरहरू आएपछि आफैैं खिच्ने गरी सेटिङ मिलाएका थिए । जसबाट उनले एक उत्कृष्ट तस्बिर पाउन सफल भए ।

यो तस्बिर ४९ हजार मध्येबाट छानिएको थियो । तस्बिरमा भएको बघिनी पूर्वी रूसको घना जंगलमा बस्ने अमुर जातको हो । यस्ता खालका बाघ केही संख्या चिनियाँ बोर्डर र उत्तर कोरियाली क्षेत्रमा पनि पाइन्छ ।