चन्द्रगढीमा हात्तीले बाटो रोक्यो
भद्रपुर, २६ असोज । भद्रपुर नगरपालिकाको साविकको चन्द्रगढी क्षेत्रमा जंगली हात्तीको उपद्रो दैनिक बढ्न थालेपछि स्थानीयलाई रात विहान आवतजावतमा समस्या बढ्दै गएको छ ।
गएराति चारआली जंगलबाट निस्किएर गाउँ पसेकोे एउटा दाह्रे हात्तीले भद्रपुर ९ स्थित पारिजात चौकमा आज विहान केहीबेर यातायात समेत अवरुद्ध गरेको थियो ।
पारिजात चोकबाट निचाझोडा जङ्गलतिर जाँदै गरेको सो हात्तीका डरले केहीबेर चारआली चन्द्रगढी सडकमा आवागमन रोकिएको हो ।
स्थानीय बासीका अनुसार सडकमा यात्रुवाहक बस, मोटरसाइकल र साना गाडीहरू गुडिरहेका बेला विहान ६ बजेतिर हात्ती रोडमा निस्किएको थियो । रोड पार गरेर सिधै जङ्गलतिर जान सक्ने अवस्था भए पति हात्तीले केहीबेर सडकमा यात्रा गर्दा गाडीहरु जोेगिनका लागि दौडादौड भएका थिए ।
(माथिको हात्तीको तस्विर सांकेतिक मात्र हो)