झापमा आज ११ जना कोरोना संक्रमित थपिए

भद्रपुर २६ असोज । झापाका भद्रपुर नगरपालिका र दमक नगरपालिकाले नगर क्षेत्रमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि नगरपालिकाले थप तीन दिन सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन् । यसअघि असोज २१ देखि २३ गतेसम्म सेवा बन्द गरिने सूचना निकालेको नगरपालिकाले पुनः सूचना जारी गर्दै असोज २७ गतेसम्म सेवा बन्द गर्ने जानकारी गराएका छन् । अतिआवश्यक सेवा बाहेक नगरपालिका, वडा कार्यालय र विषयगत कार्यालयबाट हुने सबै सेवा बन्द गरिने सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी अनुसार, आज झापाका तीन स्थानीय तहमा एक बैंक कर्मचारी, २ अस्पताल कर्मचारी गरी ११ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये भद्रपुर नगरपालिकाका एक महिला र तीन पुरुष, दमक नगरपालिकाका २ महिला र ३ पुरुष र अर्जुनधारा नगरपालिकाका १ महिला र १ पुरुष रहेकाछन् । स्वास्थ्य कार्यालय झापाका अनुसार, झापामा कूल संक्रमितको संख्या एक हजार एक सय २१ पुगेको छ भने १२ जनाले ज्यान गुमाएका छन् ।