नेपालमा आज थपिए दुई हजार ५९ जना कोरोना संक्रमित

काठमाडौँ २३ असोज । देशभर शुक्रबार दुई हजार ५९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा दुई हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

देशभरका संस्थागत आइसोलेसन ११ हजार १७६ जना र होम आइसोलेसनमा १५ हजार ८७७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७०३ जना क्‍वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ४५ हजार २३७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ७५ जनाको भेन्टिलेटरमा र ३१८ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या छ सय पुगेको छ ।