प्रधानमन्त्री केपी शर्मा ओलीलाई गगन थापाको आग्रह

काठमाडौं २३ असोज । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य शैलीका कारण कोरोना महामारी जटिल अवस्थामा पुगेको बताएका छन् । पछिल्लो समय कोरोना संक्रमितलाई जटिलता हुँदा आइसोलेसनमा राखेर उपचार गर्न र सघन उपचारका लागि कहीँ बेड उपलब्ध नभएको अवस्थामा प्रधानमन्त्रीले समयमै नसोचेको, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाको भनाइ छ ।

विहीबार ट्वीटरमा थापाले, “एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ, तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ ।अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ । केही समस्या भइहाले के गर्ने,सवैमा अलमल छ ।”लेखेका छन् । समय, स्रोत, सहयोग सबै हुँदा पनि प्रधानमन्त्री ओलीको सोच र शैलीको कारण कोरोना महामारी जटिल अवस्थामा पुगेको उनको बुझाइ छ ।

“यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्री ज्यूलाई पटक पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन । समय,स्रोत,सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ । टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ,” थापाले लेखेका छन् । “योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन । अहिले मन्त्रीमण्डल भागबन्डाबारे होइन,संकटबारे छलफल गर्नुस्।् बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस्”ु थापको आग्रह छ ।