झापा गाउँपालिकाले भौतिक पूर्वाधार अनुगमन थाल्यो
झापा, २३ असोज । झापा गाउँपालिकाले आफू मातहतमा निर्माण भइरहेका भौति पूर्वाधार विकास आयोजना स्थलगत रूपमा अनुगम सुरू गरेको छ ।
गाउँपालिकाका अध्यक्ष जयनारायण साह नेतृत्व टोलीले आफ्नो पालिकाभित्र बन्दै गरेका विभिन्न ठाउँका सडकका कालोपत्रे, स्तर उन्नति गरिएका भित्री सडक तथा बाटोघाटो र पुल पुलेसाहरूको स्थलगत अनुगमन सुरू गरेका हुन् ।
पहिलो चरणमा झापा गाउँपालिका वडा नं. २ बालुवाटार र कुवाडीवारी बीचमा पर्ने सानो माईखोलामा बन्दै गरेको फलामे बेलीब्रिज , वडा नं २ कै कुवाडी बसस्टेण्डदेखि ३ कि.मी टाढा पंचमको हुलाकी बाटोसम्म जोड्ने कालोपत्रे , वडा नं ६ शरणामतीदेखि दयालधाम जाने कृषिमार्ग जोडिने गरी बनिसकेको कालोपत्रे र वडा नं ३ र ४ को हुलाकी बाटो खयरवारीदेखि कामाटोलीसम्म बनिसकेको कालोपत्रेको अनुगमन गरिएको गाउँपालिका प्रशासनले जानकारी दिएको छ ।
अनुगमनकै क्रममा अध्यक्ष साहले स्थानीयबासीसँग भेटघाट , विकाससम्वन्धी गुनासा भए सुनुवाइ गर्ने गरीकुराकानी गरिएको जनाइएको छ ।