इस्टु प्याब्सन वार्ता विनानिष्कर्ष

भद्रपुर, २१ असोज । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा र प्याब्सन झापा बीच शिक्षक कर्मचारीको तलव विवाद समस्याहल गर्न भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

२०७७ बैशाखदेखि भदौसम्मको शिक्षक कर्मचारीको तलव सम्बन्धमा भएको दुई पक्षीय वार्तामा प्याब्सनले निर्णय दिन नसकेपछि विना निष्कर्ष टुंगिएको हो ।

इस्टु झापाको तर्फबाट जिल्ला अध्यक्ष होमराज खतिवडाले २०७७ बैशाखदेखि भदौसम्मको तलव विवाद सम्बन्धमा प्याब्सनको धारणा माग गरेपछि प्याब्सन झापाका अध्यक्ष एल पी उप्रतीले ५ महिनाको तलव वारे निर्णय दिन नसक्ने भन्दै थप गृहकार्यको माग गरेका थिए । अध्यक्ष उप्रतीले २०७७ अशोजयता शत प्रतिशत तलव दिन विद्यालय सञ्चालक तयार रहेको भन्दै अगाडिका ५ महिनाको तलवको विषय छाँयामा परेका थिए ।

वार्तामा इस्टु प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीले कम्पनी ऐन तथा शिक्षा ऐनको परिधिमा रहेर विद्यालय सञ्चालन गर्न प्याब्सन तयार हुनु पर्ने भन्दै तलव दिन सकिदैन वा दिन्नौ भन्ने अधिकार कुनै पनि विद्यालय सञ्चालकसित नरहेको प्रष्ट पारेका थिए ।

२०७७ बैशाखयता आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीका माग सम्बन्धमा विद्यालय सञ्चालक सकारात्मक नहुँदा निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारी गर कि मर को निर्णायक आनदोलनको चरणमा पुगेका छन् ।

कम्पनी ऐन अनुसार सञ्चालनमा रहेका निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले ६ महिनायता नियमित पारिश्रमिक पाउन सकेका छैनन् भने शिक्षक कर्मचारीप्रति जिम्मेवार हुन नसकेका सञ्चालक तथा प्याब्सन, एन प्याब्सनका गतिविधि बिरूद्ध आन्दोलित भएको युनियनले तलव भुक्तानी हुनु पर्ने एक शुत्रीय माग राखेर सडकमा उत्रिएको छ । श्रमिकको कठिन जीवन शैलीलाई सहज बनाउन राज्यले समेत अभिभावकत्व दिन नसकेपछि उत्पीडन तीब्र गतिमा बढ्दै गएको छ ।