भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार

भद्रपुर २१ असोज । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा र झापाको गौरादह नगरपालिकाका १८ वर्षीया तीन युवतीको माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरेका हुन् ।

युवतीहरुले आफ्नै साथीले भारतको पानीटङ्कीमा काम लगाई दिने बहाना बनाएर बोलाएकाले जान लागेको बताएका छन् । उनीहरुलाई पानीटङ्कीतर्फ जान सीमामा घुमफिर गरिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो । उनीहरुलाई तत्काल उद्धार गरी काँकडभिट्टामै रहेको माइती नेपालको कार्यालयमा राखिएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जानकारी दिए । कोरोना महामारीमा समेत मानव तस्करहरु सीमा क्षेत्रमा सक्रिय रहेको उनले बताए ।