झापामा आज पाँच जनामा कोरोना संक्रमण

झापा, असोज १९ । समुदायमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको झापामा पाँच जना संक्रमित थपिएका छन् ।

यसरी कोभिड १९ संक्रमित थपिनेहरुमा दमक नगरपालिकाका चार र गौरादह नगरपालिकाका एकजना रहेका छन् ।

दमक नगरपालिका वडा नं ८ का एक पुरुष र वडा नं ५ का एक महिलासहित तीनजना संक्रमित थपिएका हुन् । उनीहरु सबै सर्वसाधारण रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत कुवेर भट्टराईले बताए । आज थपिएसँगै दमकमा संक्रमितको सँख्या १८३ पुगेको छ । जसमध्ये १५५ जना निको भएका छन् । बाँकी २७ जा उपचाररत रहेका छन् ।

दुई जना विपी प्रतिष्ठान धरान , एकजना विराट मेडिकल कलेज विराटनगर , दुईजना आम्दा दमक र २१ जना होम आइसोलेसनमा रहेको अधिकृत भट्टराईले जानकारी दिए । त्यस्तै गौरादह नगरपालिका वडा नं ६ का ६३ वर्षिय एक बृद्धमा संक्रमण देखिएको छ । भरतपुर क्यान्सर हस्पिटलमा विगत दुई महिनादेखि उपचाररत व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

उनले त्यही नै स्वाब संकलन गर्न लगाएका थिए । योसँगै गौरादहमा संक्रमितको सँख्या २८ पुगेको छ । त्यसमध्ये २१ जना निको भएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए । आज ५ जना थपिएसँगै जिल्लामा संक्रमितको सँख्या ९३६ पुगेको छ ।