गौरादहमा विभत्स हत्या गरिएकी मनमायाका श्रीमान् पक्राउ
झापा, १६ असोज । झापाको गौरादहमा विभत्स हत्या गरिएकी मनमाया भण्डारीको हत्या आरोपमा पक्राउ परेका उनकै श्रीमान् भीम भण्डारीलाई जिल्ला अदालत झापाले अनुसन्धानका लागि सात दिन म्याद थप गरेको छ ।
घटनाका बारेमा विस्तृत रूपमा स्थलगत अध्ययन, तथा स्थानीय बासीसँगको सोधपुछ, र आरोपिको प्रारम्भिक बयानका आधारमा अनुसन्धानका लागि भण्डारीलाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद पाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानले ६४ बर्षीय भण्डारीले नै श्रीमती मनमाया भण्डारीको हत्यामा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । उनलाई बिहिबार साँझ इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो । हत्या भएको तीन दिनपछि प्रहरीले भण्डारीलाई घरबाटै नियन्त्रणमा लिएको हो ।
गत सोमबार गौरादह –१ मा रहेको भण्डारी दम्पतीकै घरमा मनमायाको विभत्स हत्या भएको थियो । अनुसन्धानका क्रममा हथौड़ा प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।