कांग्रेसमा देउवाको विकल्प को ? झापामा सिटौलासंगै , शेखर र रामचन्द्रको चर्चा

विष्णु पौडेल

दमक, १६ असोज । नेपाली कांग्रेस भित्र यतिबेला नेतृत्व परिवर्तनको बहस चर्कै रुपमा उठेको छ । कांग्रेसमा सभापति शक्तिशाली हुने व्यवस्था रहेकाले पनि पार्टी नेतृत्वसंग असन्तुष्टि राख्ने समुह जहिले पनि पार्टी सभापतिको आलोचनामा बढी सक्रिय हुने पुरानै रोग हो ।

कांग्रेसमा यस अघि १३ औं महाधिवेशनको तातो लागिरहेका बेला शेरबहादुर देउवाप्रति इंिगत गर्दै कांग्रेस महामन्त्री रहेका कृष्ण सिटौलाले झापाको दमकमा सञ्चारकर्मीहरु र शुभचिन्तकहरु माझ भनेका थिए –“उहाँ ( शेरबहादुर देउवा)लाई अस्ति १३ औं महाधिवेशन सकिएको भोलीपल्टदेखिनै १४ औं महाधिवेशन लागेको छ । म अहिले फुर्सदमा छैन, बेला आएपछि त्यता ( महाधिवेशन) तिर लागौंला ।”

चार बर्ष अघि १३ औं महाधिवेशनबाट देउवा पार्टी सभापति बने, त्यो पनि सिटौलाकै साथका कारण । सिटौलाले १३ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी त दिए तर त्रिपक्षीय निर्वाचनमा उनले प्राप्त गरेको मत निर्णायक हुने भएपछि भागवण्डामा देउवालाई सभापति हुने अवसर दिए । अर्का प्रत्यासी रामचन्द्र पौडेललाई सिटौलाले समर्थन गर्न सक्ने धेरै सम्भावनाहरु औंल्याइरहँदा देउवाले पौडेललाई साइड लगाएर सिटौलाको समर्थन लिन सफल भएका थिए । तर, १३ औं महाधिवेशनको ताप सकिएपनि राग रही रहयो । सभापति देउवाको कार्यशैलीको शुरुवातदेखिनै देउवा इतरको समुहले आलोचना गर्दै आए । आलोचनामा थप बल पुर्यायो स्थानीयदेखि राष्ट्रिय निर्वाचन परिणामले ।

संघीय संसदको आम निर्वाचनमा प्रत्यक्ष तर्फ १६५ सिटमा जम्मा २३ वटामा खुम्चियो नेपाली काङ्ग्रेस । सातवटा प्रदेश सभामा कहिं पनि सरकार बनाउने स्थिती रहेन । समग्रमा तीनै तहका निर्वाचनको परिणाम लाजमर्दो रहयो । चुनाव त मतदातामा निर्भर रहने कुरा भयो । पार्टीमा १३ औं अधिबेशनको ६ महिनामै बनाइनु पर्ने विभागहरु १४ औं महाधिवेशनको ६ महिना अघि सम्म पनि बन्दैछन । चुनावी परिणामबाट निराश जस्तै बनेका तर पार्टीलाई सुधारेर अघि बढनु पर्छ भन्ने मान्यता राख्ने शुभचिन्तक तथा कार्यकर्ताहरु पार्टी नेतृत्वको मनपरीतन्त्र र बल मिच्याइँको विरुद्धमा छन । तल्लोस्तरका सामान्य कार्यकर्ताहरुले समेत ७ दशक पुरानो र लोकतान्त्रिक पार्टी भित्रको अलोकतान्त्रिक प्रवृत्तिका विरुद्ध आवाजहरु त उठाएका छन तर पदीय लोभ प्रलोभन , दबाब र भोलीका दिनमा राजनीतिक हैसियत समाप्त हुने हो कि भन्ने चिन्ता उनीहरुमा पनि देखिन्छ ।

१४ औं महाधिवेशनको तातो लाग्दै गर्दा पार्टी सभापतिमा नेता सिटौलाको दाबी रहँदैन भन्न सकिने अवस्था छैन । तर सिटौलाले यसबारेमा आफना शुभेच्छुक र निकटतम नेता कार्यकर्ताहरुसंग खुलेर केही बोलेका छैनन । सिटौलासंग नजिक रहेर सम्वाद गर्ने गरेका एक जना जिल्लास्तरीय कार्यकर्ता भन्छन– कृष्ण दाईले सभापतिमा आफनो उम्मेदवारीको बिषय क्लियर त गर्नुभएको छैन तर नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने अडानमा हुनुहुन्छ । अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार भइसकेको नेताले अब त्यही पदमा दाबी दोहोर्याउने या पछाडी हटने दुई मध्ये एक मात्र विकल्प हुन सक्छ । सिटौला कम बोल्ने र भित्र भित्रै योजना बुन्न सिपालु नेता हुन भन्ने प्रष्ट हुन अघिल्लो महाधिवेशनलाई हेरे पुग्छ ।

विशेष गरी शान्ति प्रकृयालाई अघि बढाउन स्व। गिरिजाप्रसाद कोइरालाको विश्वसिलो पात्र भएर जिम्मेवारी निर्वाह गरेका कारण कोइराला परिवारको साथ र आशीर्वादमा चल्ने गरेका सिटौला १३ औं महाधिवेशनमा केन्द्रमा ३२४ मतको हैसियत बनाएका नेता हुन । त्यो हैसियत बनाउनमा युवा पुस्ता माझ लोकप्रिय गगन थापा, प्रदिप पौडेल जस्ता नयाँ पुस्ताका नेताको भुमिका थियो अघिल्लो पटक । यसपटक उनले महाधिवेशन प्रतिनिधिहरु चयन भएर नआउञ्जेल केन्द्रमा सभापतिको दाबी औपचारिक रुपमा राख्ने सम्भावना कम छ । महाधिवेशन प्रतिनिधिको अनुहार उनले हेर्नेछन । झापाको मतले मात्रै उनलाई सभापतिका लागि काफी हुँदैन । तर सिटौलाको यो पर्खाईको मौका छोप्नेहरु सक्रिय भइसकेका छन ।

जिल्लामा कांग्रेस नेता डा. शेखर कोइराला र रामचन्द्र पौडेलका पक्षधरहरुले भित्र भित्रै लबिङ गरिरहेका निकट कार्यकर्ताहरुले बताएका छन । सिटौलाले सभापतिमा आफनो दाबी राखिसकेका छैनन । शेखर कोइराला, विमलेन्द्र निधि र रामचन्द्र पौडेल लगायतका नेताको पनि सभापतिमा आउने सम्भावना भएकाले अब महाधिवेशन प्रतिनिधिमा दाबी गरिरहेका जिल्लाका नेता कार्यकर्ताहरु पार्टी नेतृत्व परिवर्तनको पक्षमा छन । उनीहरुले शेर बहादुर देउवाको विकल्प रोज्नुपर्ने भन्नेमा आपसी बहस र छलफल केन्द्रित गरिरहेका छन ।