झापामा आज थपिए दश जना स्थानी कोरोना संक्रमित

भद्रपुर १५ असोज । झापामा थप दश जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा पाँच जना महिला र पाँच जना पुरुष रहेका छन् ।

आज थपिएका संक्रमितहरु अर्जुनधाराका दुई पुरुष, बिर्तामोडका दुई महिला दुई पुरुष, गौरादहका एक महिला र कान्काई दुई महिला र एक पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । बिर्तामोडमा संक्रमण पुष्टि भएका एक जना इटहरी ठेगाना भएका सुरक्षाकर्मी रहेको, अर्जुनधारमा संक्रमण पुष्टि भएका एक जनाको स्वाब कोशी अस्पतालबाट र गौरादहमा संक्रमण पुष्टि भएका एक जनाको स्वाब नोबेल मेडिकल कलेजबाट संकलन गरिएको चम्लागाईले जानकारी दिए । आज थपिएका संक्रमितहरु २२ देखी ९० वर्षसम्मका छन् ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ८८० पुगेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ८३ छ भने कोरोनाबाट हाल सम्म झापामा ८ जनाको मृत्यु भइसकेको छ ।

यता, समुदायमा कोरोना भाइरस संक्रमण फैलिदै गएकोले झापाको अर्जुनधारा नगरपालिकाका थप तीन वटा वडा अनिश्चितकालका लागि बन्द गरिएको छ । समुदायमा संक्रमण फैलन सक्ने त्रासका कारण नगरपालिकाका वडा नं ८, ९ र १० वडा कार्यालय समेत बन्द गरिएको हो । कन्ट्याक्ट ट्रेसिङका लागि बन्द गर्ने निर्णय गरिएको वडा नं १० का वडाध्यक्ष बलदेवसिंह गोम्देनले जाजानकारी दिए ।

यस्तै, शनिश्चरे बजारमा रहेको ८ नम्बर वडा कार्यालयमा पनि संक्रमित व्यक्ति आएको पाएइपछि वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा आइतबारसम्मका लागि बन्द गरिएको जनाइएको छ ।

११ वटा वडा रहेको अर्जुनधारा नगरपालिकाको खुदुनाबारीमा यसअघि एकै परिवारका ३ व्यक्तिमा संक्रमण पुष्टि भएपछि अर्जुनधारा २ र ३ नम्बर वडा कार्यालय बन्द अवस्थामा छन् ।