रोटरी क्लबले मेची अस्पताललाई दियो तीव्र परीक्षण सामथ्र्यको पिसिआर परीक्षण मेसिन
भद्रपुर, १५ असोज । रोटरी क्लब अफ रिजन ७ को पहलमा भद्रपुर स्थित मेची अस्पताललाई एक थान पिसिआर परीक्षण मेसिन हस्तान्तरण गरिएको छ ।
रोटरी क्लब भद्रपुरको संयोजनमा आयोजित कार्यक्रमका बीच स्वचालित तीव्र परीक्षण सामथ्र्यको पिसिआर परीक्षण मेसिन हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले उपकरण सहयोग जुट्दा जति खुसी भित्रन्छ त्यति नै दुःख उपकरण मर्मतका लागि आवश्यक सामग्री नपाउँदा हुने भन्दै वजारमा सहज रूपमा पार्टपूर्जा भेटिने उपकरण भए सेवा प्रवाहमा अवरोध नहुने धारणा राखेका थिए ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटण्डन डा. पिताम्बर ठाकुरले छिटो रिर्पोट दिन सक्ने यस मिसिनका कारण रोग पहिचान गर्न र रोगीको उपचारमा सहयोग हुने धारणा राखेका थिए ।
रोटरी क्लब भद्रपुरका अध्यक्ष आदित्य पराजुलीले धन्यवाद दिँदै समापन गरेको कार्यक्रममा रोटरीद्वारा प्रदान गरिएको सो मेसिनले दुई घण्टामै रोगको पहिचान विवरण दिन सक्ने बताइएको थियो । हाल सञ्चालनमा रहेको पिसिआर मेसिनबाट रोग संक्रमण पहिचान विवरण आउन १२ घण्टासम्म पर्खनु पर्ने अवस्था छ भने सहयोग प्राप्त मेसिनले १० घण्टा अगाडि नै रिपोर्ट दिन सक्ने जनाईको छ ।