अतिक्रमण विरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन
काठमाडौं, १२ असोज । हुम्लामा भएको चिनियाँ अतिक्रमण विरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । नेपाली कांग्रेसका युवा नेता कुन्दन काफ्लेको नेतृत्वमा सोमबार बिहान उक्त प्रदर्शन भएको हो । चिनियाँ दुतावास अघि निषेधित क्षेत्रमै यूवा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । पछिल्लो समय हुम्लामा नेपाली भूमि अतिक्रमण गरेर चीनले बनाएका भवनहरु बनाएपछि युवाहरु आन्दोलित भएका हुन् ।
उक्त प्रदर्शनमा नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी, गोपी शिवाकोटी लगायत दर्जनौं युवाहरु सहभागी भएका थिए । उक्त प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का, दिपेन्द्र खड्का हुन् । पक्राउ परेका त्रिपाठी लिम्पियाधुरालाई नेपाली नक्सामा समेट्न माग गर्दै देशव्यापी विद्यालय तथा सार्वजनिक स्थलहरुमा अभियान चलाउने अभियन्ता हुन् । काफ्लेले कुनै पनि देशले गरेको अतिक्रमण नेपालीहरुले सहन नसक्ने बताएका छन् । उनले स्थानीय जनता र जनप्रतिनिधिले सो भूमि केही वर्षअघिसम्म नेपालीले उपयोग गरे पनि हाल आएर चीनले हस्तक्षेप गरेको बताउँदा बताउँदै सरकारले फरक प्रतिक्रिया जनाएकाले सरकारको पनि विरोध गरिएको बताए । सरकारले हतारहतार अस्वभाविक रुपमा आफ्नो टिप्पणी जनाएकोप्रति गम्भीर षड्यन्त्र हुन सक्ने काफ्लेको भनाई छ । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले डेढ किलोमिटर यता आएर चिनियाँले भवन बनाए पनि सरकारले वास्ता नगरेको बताए सरकारले हतार हतार सीमाको बिषयमा टिप्पणी गर्नु रहस्यमयी भएको नेपाली कांग्रेसले बताएको बताएको छ । हुम्लामा चीनको विस्तारवादी चरित्र देखिएको हुम्लाबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता तथा पूर्वमन्त्री जीवन बहादुर शाहीले आरोप लगाएका छन् ।