पहिलो पाइलाले दमकमा सरसफाई अभियान शुरु गर्यो

दमक, ११ असोज । चाडपर्व नजिकिँदै जादा आआफनो गाउँ टोल सुन्दर र हराभरा बनाइ राख्न सचेतना जगाउँदै पहिलो पाइला नेपाल दमक शाखाले आठ हप्ते सरसफाई अभियानको शुरुवात गरेको छ । दमकको गणतन्त्र चोकमा बर्षातका बाबजुद संस्थामा आवद्ध स्वयंसेवक युवाहरु सरसफाई अभियानमा खटिएका थिए । संस्थाका अध्यक्ष दिपक खडकाका अनुसार वातावरण सफा र स्वच्छ राख्न नियमित सरसफाई गरेर आआफनो ठाउँलाई सुन्दर बनाउनुपर्ने सन्देश दिदैं सो अभियानको शुरुवात गरिएको हो । यस अघि पनि सो संस्थाले सरसफाई कार्यक्रम बेला बेला सञ्चालन गर्दै आएको भएपनि कोरोना संक्रमणका कारण भिडभाड गर्न नहुने भएकाले कोरोना रोकथाम केन्द्रित गरिएको थियो ।

अझै संक्रमणको त्रास रहिरहेको भएपनि घर टोल वरपर सार्वजनिकस्थलमा समेत सरसफाई गर्न आवश्यक देखिएकाले अभियान शुरु गर्नुपरेको अध्यक्ष खडकाले बताए । दशैं, तिहार, छैठ जस्ता उल्लासका चाडपर्वहरु नजिकै आइरहेकाले पनि वातावरणलाई प्रदुषित हुन नदिन सरसफाई आवश्यक भएकोले सरसफाईमा जुटिएको संस्थाले जनाएको छ । सो संस्थाले यस अघि विभिन्न समस्यामा परेका असहायहरुलाई सहयोग गर्ने, रक्तदान गर्ने तथा समाजमा विशिष्ट योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने गर्दै आएको छ ।