नेपालमा आज एक हजार ५७३ जना कोरोना संक्रमित थपिए

काठमाडौँ ११ असोज । नेपालमा आज एक हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा एक हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २८१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप १० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ ।