मेचीपारिका नेपालीको सकस घट्दै (भिडियो सहित)
भद्रपुर, १० असोज । वर्षादमा नेपाल आउन सकस खपिरहेका भद्रपुर ३ मेचीपारि गाउँका बासिन्दालाई यस वर्षबाट भने आवतजावतमा केही सहजता हुन पुगेको छ ।
दशकौंको प्रतिक्षापछि मेची नदीमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलले आफ्नै देशका गाउँ बस्ती आवतजावतमा केही सहजता भएको हो ।
भ्याटसहित तत्कालीन भौतिक योजना तथा पूर्वाधार मन्त्रालय मार्फत २ करोड ८५ लाख ९८ हजार २ सय ५९ रुपैयाँमा २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरी निर्माण थालिएको पुल निर्माण सम्पन्न हुन ५ वर्ष पर्खनु परेको थियो ।
२ सय ८० मिटर लाम्बाइ र लठ्ठा सहितको दुरी तथा १३ मिटर चौडाइ भएको झोलुङ्गे पुलको (हिड्ने भाग भने १ मिटर मात्र) निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुने गरी काम थालिएको भए पनि निर्माण कम्पनीले तोकिएभन्दा ४ वर्ष पछाडि निर्माण सम्पन्न गरेको हो ।
झापा क्षेत्र ३ बाट निर्वाचित भएका बेला नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मेची नदीको झोलुङ्गे पुलको निर्माण पहल गरी शिलान्यास समेत गरेका थिए । नेता सिटौलाले २०७२ असोज ११ गते पुलको शिलान्यास गर्दै पुल बनेपछि मेचीपारिका नेपाली बस्तीको दीर्घकालीन समस्या सँधैका लागि समाधान हुने विश्वास व्यक्त गरेका थिए । तर पुल निर्माण भएर सञ्चालनमा आएपछि स्थानीयलाई दुःख विरामी पर्दा पुलको औचित्यमाथि नै प्रश्न उढ्ने अवस्था आएको छ ।
विरामीलाई लिन एम्बुलेन्स आउनु परे पुलको उपयोग हुन सक्दैन । मोटरसाइकल समेत सजिलै वारपार गर्न सक्ने अवस्था छैन । तर पनि भारतीय सीमावर्ती बजारमा निर्भर मेचीपारिका नेपाली जनता झोलुङ्गे पुल बनेपछि आर्थिक विकासको पाटो खुल्दै जानेछ भन्नेमा आशावादी छन् ।
बर्खाको तीन महिना भद्रपुर नगरपालिकाको कार्यालय, आफ्नो वडा कार्यालय वा अन्य कुनै सरकारी कार्यालयबाट सेवासुविधा लिनुपर्दा, छोराछोरीलाई विद्यालय तथा कलेज पढ्न पठाउँदा डुंगा चढेर ज्यान जोखिम मोलेर जानु पर्ने बाध्यता भने पूर्ण रूपमा हटेको छ ।
भिडियो …….