कमसल निर्माणका कारण हुलाकी सडकबाट समस्या भोग्दै स्थानीय (भिडियो सहित)

भद्रपुर, ९ असोज । हुलाकी सडक खण्डको भद्रपुर जलथल सडकको निर्माण कमसल भएकै कारण सडकमा खाल्डाखुल्डी पर्दा आवतजावतमा स्थानीयले सास्ती व्यहोर्नु परेको छ ।

निर्माण ठेकेदारका भरमा सडक निर्माण छोडिदिँदा निर्माण गरिएको एक वर्ष नपुग्दै मान्छे वारपार गर्न नसक्ने खाल्डो परेपछि स्थानीयले सास्ती व्यहोर्नु परेको हो ।

हल्दिवारी ४ स्थित बडावारी चौक पूर्वपट्टि रहेको कल्वर्ट छेउमा तीन महिनायता परेको खाल्डोका कारण सडक आवतजावतमा निकै कठिनाइ परिरहेको स्थानीय बासिन्दाको गुनासो छ ।

स्थानीयले आवतजावतमा समस्या आएपछि वडा कार्यालयमा दुखेसो पोखेको भए पनि खाल्डो ज्यूँकात्यू रहेको आरोप छ ।

यता वडाबासीको दुखेसो बारे वडाध्यक्ष होमप्रसाद चुँडाल सडक निर्माण ठेकेदारलाई अविलम्ब खाल्डो पुर्न जानकारी गराइ सकेको भन्दै एक दिनभित्र समस्या हल हुने बताउँछन् ।

सोही सडक हुँदै गाउँपालिकातिर जाँदै गरेका गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन हुलाकी सडक परियोजनाको काम गुणस्तरहीन भएकै कारण समस्या आएको बताउँदै स्तरीय काम गर्न परियोजनालाई जानकारी गराइसकेको बताउँछन् । अध्यक्ष लिङ्देनले खाल्डोका कारण गाउँ बासीले दुःख पाउनु नहुने भन्दै तुरून्तै सडक मर्मत गर्न निर्माण ठेकेदारलाई निर्देशन दिइसकेको बताउँछन् ।

भद्रपुरको झापा चौकदेखि जलथलसम्म गत वर्ष नै कालोपत्रे गरेको हुलाकी सडक निर्माण ठेकेदारले दर्जन बढी स्थानमा कल्वर्ट, पुल आसपास छोडेका टुक्राटाक्री स्थल सडक यात्राका लागि दुर्घटनाका केन्द्र बन्ने गरेका छन् ।

भिडियो …….