बिपन्न परिवारलाई शुद्ध पिउने पानी
गौरादह ७ असोज । गौरादह नगरपालिका भित्रका गरिब तथा बिपन्न सुकुम्बासी परिवारलाई खानेपानी तथा उपभोक्ता समितिले निशुल्क धारा जडान गरि शुद्ध पिउने पानी उपलब्ध गराएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले वडा कार्यालयहरुसंग समन्वय गरी पानी पिउने व्यवस्था मिलाएको हो ।
उपभोक्ता समितिले पहिलो चरणमा नगरपालिका भित्रका वडा नं. १,२ र ३ भित्र बसोबास गरेका सुकुम्बासी परिवारलाई धारा बितरण गरेको छ । धारा जडानका लागि मिटर खरिद गर्न वडा कार्यालयले प्रति घरपरिवार २ हजार ५ सय उपलब्ध गराएपछि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले धारा जडान गरेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बाबुराम भण्डारीले जानकारी गराए ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडा नं १,२ र ३ भित्र ५ सय १७ गरिब तथा बिपन्न घरपरिवारलाई खानेपानी उपलब्ध गराएको छ ।उपभोक्ता समितिले खानेपानीको धारा जडान गरेपछि वडा नं १ मा १ सय ९४ , वडा नं २ मा १ सय २३ र वडा नं ३ मा २ सय गरिब तथा बिपन्न घरपरिवार लाभान्वित भएको खानेपानी उपभोक्ता समितिका सचिब डण्डीराज घिमिरेले बताए । गरिब तथा बिपन्न परिवारले आर्थिक अभावका कारण शुद्ध पिउने पानी पिउन पाएका थिएनन् । शुद्ध पिउने पानीको अभावमा कलको आर्सनिक युक्त आइरन भएको पानी पिउन बाध्य थिए ।
जनमजदुर गरेर जिबिको पार्जन गर्दै आएका बिपन्न परिवारलाई दुई छाक टार्न समस्या भएकाले शुद्ध पिउने पानीको अभाबमा कलको पानी पिउदै आएका थिए । जनमजदुर गरेर दुई छाक टार्ने बिपन्न परिवार निशुल्क खानेपानीको मिटर पाएर धारा जडान गरि पानी पिउन पाउदा हर्षित भएका छन् । गौरादह नगरपालिका वडा नं २ कि लट्टुमई मुर्मुले सहुलियतमा आफ्नै आँगनमा धारा जडान गरेर पानी पिउन पाउँदा खुसी ब्यक्त गरिन । जनबन गरेर कमाएको पैसाले घर खर्च चलाउन धौ धौ परेकाले खानेपानीको धारा जडान गरेर पानी उपभोग गर्न पाइएला भन्ने नसोचेको मूर्मूले बताइन् । खानेपानीको धारा जडान गरेर पानी प्रयोग गर्न थालेपछि शुद्ध पानी पिउन पाउनुका साथै कपडा पहेँलो हुने समस्याको अन्त्य भएको बताइन् । कलको पानीमा सेतो कपडा धुदा सुकेपछि पहेलो हुन्थियो । धारा जडान गरेपछि लुगा धुदा कपडामा रङ परिवर्तन नभएको बताइन ।
तर, गौरादह नगरपालिका वडा नं २ का सानू मुन्सी हास्दाले खानेपानीको मिटर पाएपनि धारा जडान गर्न नसकेको बताए । जनबन गरेर कमाएको पैसाले घर खर्च चलाउन समेत नपुगेकाले धारा जडान गर्न असमर्थ भएको बताए । खानेपानी संस्थाले मिटर उपलब्ध गराएपनि धारा जडानका लागि आवश्यक पर्ने पाइप तथा अन्य सामग्री खरिद गर्ने पैसा नहुँदा धारा जडान गर्न नसकेको बताए ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले सेवा क्षेत्र भित्र खानेपानी बिस्तार गर्ने कार्यलाई निरन्तरता दिएको छ । समितिले यस बर्ष सेवा क्षेत्र भित्र ३ हजार २८ घरपरिवारलाई खानेपानीको धारा जडान गरेको छ । शुद्ध खानेपानीबाट बन्चित भएका नगरबासिहरुलाई समितिले क्रमस पाइप बिस्तार गरि धारा जडान कार्यलाई निरन्तरता दिदै सबै नागरिकलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने लक्ष्य रहेको खानेपानीका सचिब घिमिरेले बताए ।