कृषि तथा पशुपन्छी विकास मन्त्रीलाइ सहकारीको ध्यानाकर्षण

झापा ७ असोज । झापाका सहकारीले संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालसँग भेटगरी सरकारले धानको समर्थन मूल्य निर्धारण गरिदिए यसै वर्षबाट सहकारीले धान खरिद बिक्री थाल्ने अवगत गराएका छन् । झापा जिल्ला सहकारी संघले आज बिहान बिर्तामोडमा धानको समर्थन मूल्य र खरिद बिक्री सम्बन्धी अन्तरक्रिया गरी सो सम्बन्धी सरकारको ध्यानाकर्षण गराएको हो ।

सहकारीकर्मीहरुका कुरा सुनिसकेपछि कृषिमन्त्री भुषालले भने, “यो एकदमै राम्रो कुरा हो । गर्न सकिन्छ, मन्त्रालय यस कार्यका लागि सकारात्मक सहयोग गर्न तयार छ । सहकारीकर्मीहरुले स्थानीय सरकारसँग पनि समन्वय गर्ने र विशिष्टीकृत सहकारी बनाउने विधिलाई अवलम्बन गर्नु उपयुक्त हुनेछ ।” मन्त्री भुषालको सुझाव छ । दक्षिणी सीमा क्षेत्रका कृषकहरुले उत्पादन गरेको उपज भारततर्फ जानबाट रोक्न विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा सचिव युवराज ढकालले सहकजीकरण गरेको उक्त अन्तरक्रियामा सहकारीकर्मीहरुले कृषिप्रधान मुलुकका नागरिकले कृषि उपजको उचित मूल्य नपाउँदा पेसाबाटै पलायन हुँदै गरेको अवगत गराएका थिए । जिल्ला संघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्रकुमार गिरीले सरकारले अनुमति दिने हो भने सहकारीहरुको संचित कोषको आधा रकमबाटै धान खरिद बिक्री थाल्ने बताए । उनले धान चामलको व्यवसायलाई भ्यालु चेनमा रुपान्तरण गर्न सकियो भने पक्कै कृषकले उचित मूल्य पाउने धारणा राखे । पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले गत वर्षदेखि कमल गाउँपालिकाका तीनवटा बहुउद्देश्यीय सहकारी संस्थाहरु मिलेर धान खेती गरेको तर परल मूल्यमा पनि उत्पादन बिक्री गर्नै नसकेको गुनासो गरे ।

अन्तरक्रिया कार्यक्रममा नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शरणकुमार पराजुली, श्रद्धा कृषि सहकारीका अध्यक्ष प्रेमसागर सापकोटा, सतासी बहुमुखी सहकारीका अध्यक्ष रुद्रमणि श्रेष्ठ, जिल्ला संघका सञ्चालक कृष्णप्रसाद मिश्र लगायतले सहकारी अभियानले उठाएको विषयलाई कृषि मन्त्रालयले सम्बोधन गर्न सक्नुपर्ने धारणा राखेका थिए ।

सहकारी कर्मीहरुका भनाई पछि मन्तब्य राख्दै प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण राज्यमन्त्री राम रानाले झापाले नै यसको सुरुवात गर्ने हो भन्दै विशिष्टीकृत संघको अवधारणा बनाएर काम थाल्न सुझाव दिएका छन् ।