विरिङ खोलामा झोलुङ्गे पुल निर्माण

शनिश्चरे ६ असोज । अर्जुनधारा नगरपालिका वडा नं।–५ र ७ स्थित मदनपुर–लक्ष्मीपुर सडक जोड्ने डिएमसी विरिङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । स्वीस सरकारको सहयोगमा संघीय सरकार अन्तरगत डोलीडारबाट एककरोड २० लाख रुपैयाँको लागनीमा निर्माण गरिएको पुल १६२ मिटर लम्बाई र साढे चारफिट चौडाई र उचाई ५ मिटर रहेको छ । २०७५ साल माघमा शिलान्यास गरिएको पुलको यही असोजमा समुद्घाटन गर्ने तयारी अनुसार निर्माण कार्यलाई तीब्रता दिइएको स्थानीय केदार पराजुलीले जानकारी दिनुभयो । विश्वमा फैलिएको कोरोना महामारी जोखिम संक्रमणका कारण पुल निर्माणमा केही ढिलाई भएको बताइएको छ ।

वर्षातमा वर्षेनी आवत–जावतको समस्या झेल्दै आएका स्थानीय पुल निर्माणसंगै हर्षित भएका छन् । पुल निर्माणसंगै आवागमनमा सहज भएपछि सो क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गरिने भएको छ । पुल निर्माण भएपछि अर्जुनधारा नगरक्षेत्रका वडा नं।–४,५ र ७ स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेदेखि नै पुल हेर्ने र सेल्फी खिच्नेहरुको समेत भीड लाग्न थालेको स्थानीयले बताएको छ नेपालमा बनेका अधिकांश झोलुङ्गे पुल निर्माणका लागि स्वीस सरकारले सहयोग गर्दै आएको छ ।