शहीद भट्टराईको स्मृतिमा निर्मित भवन उद्घाटन

भद्रपुर, ६ असोज । तत्कालीन बालुवाडी गाविसका अध्यक्ष तथा काँग्रेस झापाका स्थानीय नेता चन्द्रमणि भट्टराईको स्मृतिमा ६० लाख लागतमा निर्माण गरिएको स्मृति भवनको उद्घाटन गरिएको छ ।

२०५९ असोज ६ गते नेकपा माओवादी विद्रोहीले हत्या गरेका नेता भट्राईको स्मृतिमा बालुवाडीमा निर्माण गरिएको भवनको नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गरेका हुन् ।

भवन निर्माणका लागि नेता सिटौलाले संसद विकास कोषबाट १४ लाख प्रदान गरेका थिए भने प्रदेश संसद ओमप्रकाश सरावगी तथा बसन्तकुमार बानियाँले दश दश लाख प्रदान गरेका थिए । बाँकी रकम नेपाली काँग्रेसका स्थानीय नेता तथा शुभचिन्तकबाट संकलित गरेर निर्माण सम्पन्न गरिएको हो ।

सहिद चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानकी अध्यक्ष सीतादेवी भट्राइको अध्यक्षता तथा नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश संसद ओमप्रकाश सरावगी, बसन्तकुमार बानियाँ, नेपाली काँग्रेस झापा सभापति उद्धव थापा, जिल्ला सदस्य विजय रिजाल, क्षेत्रीय सभापति गणेश पोखरेल लगायतले मन्तव्य राख्दै भट्टराईले पुर्याएको सामाजिक तथा राजनीतिक योगदान बारे चर्चा गरेका थिए । यसै विच शहीद भट्टराईको सालिक समेत अनावरण गरिएको थियो ।