रागिनी आइडल सिजन–३ आयोजना हुँदै
बिर्तामोड, ५ असोज । असोज दोस्रो सातादेखि ‘रागिनी आइडल सिजन–३’ हुने भएको छ । यसअघि भएका दुई वटा सिजनको भव्य सफलतापछि रागिनी संगीतालय भद्रपुरको अयोजनामा तेस्रो संकरणको ‘रागिनी आइडल सिजन–३’ हुन लागेको हो ।
आयोजक भरत मैनालीका अनुसार प्रतियोगिताका लागि प्रतियोगी छनोट गर्न फारम वितरण भइरहेको छ । यसअघिका संस्करणहरु स्टेज मार्फत भए पनि यस पटक कोरोना भाइरस कोभिड–१९ का कारण अनलाइन मार्फत् अडिसन हुने मैनालीले बताए । अनलाइनमार्फत् नै विजेता छनोट गरिने छ ।
असोज १४ गतेसम्म विभिन्न शाखा एवम् सम्पर्क मार्फत् फारम वितरण भइरहेको छ । “अडिसनमा आफ्नो च्वाइस अनुसार कुनै पनि नेपाली गीत गाउन सक्नेछन्”, मैनालीले भने “त्यसपछिका अडिसनमा प्रतियोगिताको नियम अनुसार गाउनु पर्नेछ ।”
यसअघि रागिनी पहिलो सिजनमा रचना रिमाल र दोस्रो सिजनमा अनिस लिम्बूले उपाधि हात पारेका थिए । रचना रिमाल नेपाल आइडलको टप आठमा पर्न सफल भइसकेकी छन् ।