वामदेव गौतम बिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उत्प्रेषण तथा परमादेश लगायत अन्य उपयुक्त आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् । रिटको सुनुवाई बुधबार हुने सर्वोच्चले जानकारी दिएको छ । गत असोज १ गते राष्ट्रपति विद्या भण्डारीले २०७७ भदौ २९ गतेको मन्त्रिपरिषदको सिफारिस बमोजिम मनोनित गरेकी हुन् ।

प्रतिनिधिसभाको निर्वाचनमा सहभागी भै सो निर्वाचनमा पराजित भइसकेको व्यक्तिलाइ राष्ट्रपतिद्वारा मनोनित सीटमा मन्त्रिपरिषदद्वारा सिफारिस गरिनु संविधान विपरित हुनुका साथै संसदीय लोकतान्त्रिक प्रणालीको आधारभूत मूल्य मान्यताको समेत बर्खिलाफ रहेकोले अन्य वैकल्पिक उपचारको अभावमा सो कार्यलाई बदर गराउन सम्मानित अदालत समक्ष उपस्थित भएको छु’ निवेदकले रिटमा भनेका छन् ।