झापाको जनजीवन सामान्य हुँदै
झापा, ५ असोज । असोज लागे यता झापाको जनजीवन सामान्य अवस्थामा आउन थालेको छ । सार्वजनिक यातायात संचालनमा आएपछि जनजीवन सामान्य हुनथालेको हो । शैक्षिक प्रतिष्ठान बाहेक, बजार, उद्योग, व्यवसाय सहज रुपमा संचालनमा आएका छन् । मानिसका मनबाट कोरोनाको त्रासको क्रमशः हट्दै गएको छ ।
मेची बस व्यवसायका अध्यक्ष विष्णुकुमार श्रेष्ठका अनुसार, हिजो बसमा सार्वजनिक यातायातका सवारी साधनमा चढ्नु यात्रु हिचकिच्याउथे भने विस्तारै विना हिचक यात्रु बसमा चढ्न थालेका छन् । सार्वजनिक सवारी साधनमा चढ्ने क्रम यसरी नै बढ्दै जाने हो भने, आगामी महिना दिनमा सबै सवारी साधन संचालनमा आउने छन् । अहिलेको ५ दिन भित्र ४० प्रतिशत सार्वजनिक सवारी साधन चल्न थालिसकेका छन् । अध्यक्ष श्रेष्ठका भनाई अनुसार काँकरभिट्टा नाकाबाट बाहिरबाट आएर होल्डिङ सेन्टरमा बसेका निगेटिभ परीणामका यात्रुलाई सरकारले सार्वजनिक सवारी साधनबाट आ–आफ्नो गन्तव्य जान अनुमति दिनु पर्ने आग्रह गरे । अहिलेसम्म त्यस्ता होल्डिङमा रहेकालाई सरकारले साना गाडीमा रिजर्भ गरेर जान लगाइरहेको छ ।