काँग्रेसले बुझायो ज्ञापनपत्र

भद्रपुर, ४ असोज । नेपाली काँग्रेस भद्रपुर १० नम्वर वडा समितिले वडाभित्रका समस्या निवारणको माग राखेर १० नम्वर वडा कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । वडा सभापति शालिग्राम नेपालको नेतृत्वमा गएको टोलीले ४ बुँदे मागसहित वडाध्यक्ष टेकबहादुर खड्का काजीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा भनिएको छ –

१. भद्रपुर नगरपालिका वडा नं. १० मा बसोबास गर्ने नागरिकहरुको हालको जल्दो बल्दो समस्याका रुपमा रहिआएको हात्ती आतंकले हाल किसानहरुले लगाइरहेको धान बालीलाई दिनै पिच्छे हात्तीले आएर खाने माड्ने कुल्चिने र मानिसका घर टहराहरु भत्काउने गरेकोले मानिसहरुमा डर त्रास र भयको वातावरण हुनुका साथै धेरै नोक्सानी समेत गरेकोले उक्त हात्ती आतंकलाई निरुत्साहित गर्न वडा कार्यालयले कहाँ कसलाई र कसरी हुन्छ भन सुन गरेर यस वडा मार्फत हात्ती आतंकलाई सधैका लागि अन्त्य गराउनका लागि पहल गर्नुपर्ने भन्ने हाम्रो जोडदार माग रहेको छ ।

२. भद्रपुर नगरका यस वडा बासीहरुले बर्षेनी नगरपालिकालाई कर तिर्दै आइरहेको तर नगरपालिकाबाट नगरबासीहरुले पाउन पर्न सुविधा नपाइरहेको भन्ने जनगुनासो अनुरुप सडक बत्तीका विषयमा यो भन्दा अगाडी पनि वडामा आई जानकारी गराउँदा समेत बेवास्ता गरी सडक बत्ती नबनाई दिएको र यस वडाका अधिकांश सडकमा सडा बत्ती नभएकोले र यसै बेला हात्तीको आतंक भएकोले बाहिर निस्कन मुस्कील पर्नुका साथै अन्धकारमय वातावरणमा केही कतै नदेखिने भई वडाबासीहरुले बेहोर्नु परेको समस्यालाई निराकरण गर्नुका लागि सडक बत्तीको यथासिघ्र व्यवस्था मिलाउन पहल गरियोस् भन्ने माग रहेको छ ।

३. नगरपालिकाका अधिकांश सडकहरु शहरी विकासले ड्रेन निर्माण गरी केही सडकहरु पिच समेत गरिदिएकोमा पिच गर्न बाँकी रहेका सडकहरु र अन्य शहरी विकासमा नपरेका सडकहरुमा ठूला ठूला खाल्डो परी हिँडडुल गर्न समेत बाधा उत्पन्न भएकोले गर्दा त्यस्ता सडकहरुमा यथासिघ्र वालुवा हाल्ने काम होस भन्ने हाम्रो माग रहेको छ । त्यस्ता बाटोहरुमा :–

१) विपीचौक देखि लेखनाथ चौक जाने बाटो ।

२) शहिद चौक देखि १७ विघेको फुलबारी चौक जाने बाटो ।

३) चन्द्रगढी टि स्टेट अगाडी देखि ढेनाको घर जाने बाटो ।

४) केन्द्रमोडको छेउ इन्द्र बहादुर प्रधानको धर अगाडीको बाटो ।

५) बरगाछी मार्ग भद्रपुर–१०

६) प्रज्ञा उत्तर विपी मार्ग जोड्ने बाटो ।

७) प्रशिक्षण केन्द्रबाट सुकुमवासी टोल जाने बाटो ।

८) केन्द्रमोड पश्चिम बरगाछी दक्षिण पिच सम्म जोड्ने बाटो ।

९) लेखनाथ चौक काफ्ले टोलको बाटोलाई विस्तार गरी व्यवस्थापन गर्नुपर्ने ।

१०) दोस्रौं खानेपानी टंकीको संचालन र सडकको दुवै साइड पाइप विस्तार गर्ने कार्यलाई तुरुन्तैै लागु गर्नु पर्ने ।

४. शहरी विकासद्वारा निर्मित ड्रेनहरु बाटो ग्राभेल गर्ने क्रममा गिरी वालुवाहरु ड्रेनमा झरी ड्रेनलाई ब्लक गरी पानी पास नभई नालामै पानी जमेर पानीको निकास हुन नसकेकोले त्यस्ता नालालाई सफा गराउनु पर्ने भन्ने हाम्रो माग रहेको छ ।

ज्ञापन पत्र बुझ्दै वडाध्यक्ष काजीले माग सुनुवाई गर्न आफू लागि पर्ने प्रतिबद्धता जनाएका थिए भने कार्यक्रममा नेपाली काँग्रेसका अगुवा कार्यकर्ताहरू, शुभचिन्तक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।