दोब्बर भाडा उठाउने अधिकारसहित लामो दूरीका सवारी चल्दै

काठमाडौं, १ असोज । लामो समयदेखि ठप्प रहेका लामो दूरीका सार्वजनिक सवारी आजदेखि चल्ने भएका छन् । कोरोना महामारी सुरु भएपछि झण्डै छ महिनापछि लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हुन् । कोरोना रोकथामका लागि गत चैत ११ देखि लकडाउन भएपछि सार्वजनिक गाडी ठप्प थिए । साउन ६ देखि लकडाउन खुलेपनि लामो दूरीका सार्वजनिक गाडी चलेका थिएनन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको थियो । सरकारले साबिकको भाडादरमा थप ५० प्रतिशत बढीसम्म लिन पाइने व्यवस्था पनि गरेको छ । सार्वजनिक गाडी चलाउँदा सरकारले तोकेको जनस्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । गाडीको एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्नेछ ।

सरकारको निर्णयको यातायात व्यवसायीले स्वागत गरेका छन् । उनीहरूले आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने भएका छन् । यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले बुधबार विज्ञप्ति निकालेर बिहीबारदेखि बस सञ्चालन गर्न सबैलाई अनुरोध गरिसकेको छ कार्यदलले बुधबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटेर असोज १ देखि गाडी चलाउन आफूहरु तयार रहेको जानकारी गराएका थिए । कोरोना महामारीबीच पनि जनजीवन सामान्य बनाउन सरकारले भीड हुने क्षेत्रबाहेक अरू क्षेत्रमा खुकुलो बनाएको छ । गाडी चल्ने भएपछि बुधबारदेखि नयाँ बसपार्कमा चहलपहल बढेको थियो । सरकारले कोरोनाबाट जोगिन उच्च सावधानी अपनाएर र स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर गाडी चलाउन तथा अन्य व्यवसाय गर्न अपिल गरेको छ ।

दशैंको मुखमा सार्वजनिक सवारी चल्ने कुराले आम मानिसलाई खुशी बनाएपनि यातायात व्यवसायीलाई भाडामा दोब्बर असुल्ने अधिकार दिएर एकसाथ दुखी बनाएको गुनासो पनि भैरहेको छ ।