आन्तरिक उडान तत्काल सञ्चालन नगर्ने

काठमाडौं, १ असोज । सरकारले असोज १ गतेदेखि आन्तरिक उडान खोल्ने निर्णय गरेपनि निजी वायुसेवा सञ्चालक संघले तत्काल उडान सञ्चालन नगर्ने बताएको छ । संघले नागरिक उड्ययन प्राधिकरणबाट भएको निर्देशन पालना गरी नियमित उडान सञ्चालन गर्न तयार रहेतापनि ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न सम्भव नरहेको बताएको छ ।

संघको प्रथम उपाध्यक्ष अनाज रिमालले एक विज्ञप्तिमार्फत उडान सञ्चालन गर्न नसक्नुमा विभिन्न कारण देखाएका छन् । जसमा भारतलगायत अन्य मुलुकमा आन्तरिक उडानमा सामाजिक दुरी कायम गरी ५० प्रतिशत मात्र यात्रु बोक्ने व्यवस्था नरहेको तथा ५० प्रतिशत यात्रु बोक्दा टिकटको दर पनि दोब्बर पर्ने भएकाले यात्रुले अफोर्ड गर्न नसक्ने उनको भनाइ छ । यही अवस्थामा उडान सञ्चलन गर्दा हवाइ उद्योग नै धरासयी बन्ने भएकाले पूर्ण क्षमतामा यात्रु बोक्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ । यसअघि हवाइ सञ्चालकहरुले आन्तरिक उडान खोल्न माग गरेबमोजिम सरकारले निर्णय गरेपनि अहिले उडान सञ्चालन नगर्ने बताएका हुन् ।