गौरीगंजका मुर्तिकार मोहनदेव माली
आत्माराम राजवंशी
गौरीगंज, ३१ भदौ । उमेरले वर्ष ४३ को । गौरीगंज गाउँपालिका वार्ड नं. ४ हल्तावारीका मोहनदेव माली । यतिवेला उनीसंग गफै मात्र गर्न उनको घर पुग्यो भने त्यसै फर्कनु पर्ने हुन्छ । धेरै आफन्त, छिमेकी र साथीभाइ यसैकुराको गुनासो गर्छन् । तर उनलाई कुनै प्रवाह छैन । यतिवेला उनलाई मुर्ति बनाउन भ्याई नभ्याई छ ।
विहान ६ बजे उठेदेखि माटोको मुर्ति बनाउन खट्छन् । उनलाई मंगलवार दिउसो १ बजे भेट्दा मुर्तिमा रङ्ग लगाउन व्यस्त थिए ।‘ अर्डर दिएका सबै विश्वकर्मा भगवानको मुर्ति विहान सम्म दिईसक्नु पर्छ उनले भने – गफ गर्ने टाईम नै छैन ।’ लहरै ३ वटा विश्वकर्मा भगवानको मुर्तिमा रङ्गरोगन गर्न बाकी रहेका उनको हात तीनै मुर्तिमा थियो । ब्रसले रङ्ग लगाईरहेका मोहनदेवको खानदानी पेशा भए पनि उनको बाउ बाजेले भने मुर्ति बनाउने कार्य गरेनन् । कतिपय युवा पुस्ताले खान्दानी पेशालाई छोडेर कमाई गर्न विदेशी गईरहेको अवस्थामा मोहनदेवले भने बाबुवाजेको खान्दानी पेशा छाडेनन् । ‘ दुः ख व्यक्त गर्दै उनले भने, मेरा बाउ बाजेले खान्दानी पेशा नगरे पनि मैले यसलाई निरन्तरता दिएको छु , यसैमा गर्व छ ।’
गौरीगंज गाउँपालिका वार्ड नं। ३ गौरीगंज चौक नजिक कोठा भाडामा लिएर मोहनदेव मुर्तिकलाकार सेन्टर खोलेका छन् । गाउँ घरमा २० वर्षको उमेरदेखि आफै माटोको मुर्ति बनाउने अभ्यास गर्दै सिकेका मोहनदेव विभिन्न भगवानको आकर्षक माटोको मुर्ति बनाउन अभ्यस्त भईसकेका छन् । विश्वकर्मा, काली, सरस्वती, विष्णु, दुर्गा, कृष्ण, राधा, छठ मैयालगायत दर्जनौ भगवानका आकर्षक मुर्तिहरूले उनको कोठा भरिभराउ छ ।
‘यी सबै अर्डर दिएका मुर्तिहरू हुन्, उनले देखाउदै भने – सिजनमा मुर्तिको ओर्डर बुकिङ्ग गर्न भ्याईन भ्याई हुन्छ । ‘ सामान्य आकारको एउटा मुर्ति बनाउन २ हजारदेखि ३ हजार रूपैयाँसम्म लिने गरेका मोहनदेव बर्षमा ३ लाख रूपैयाँ जति कमाई हुने गरेको उनले बताए । लगातार काम गर्यो भने एउटा मुर्ति बनाउन ३ दिन लाग्ने बताउदै उनले एउटा मुर्तिमा ५ सयदेखि ७ सय रूपैयाँ खर्च हुने बताए । पराल र चिम्ठिलो माटोबाट बनाउदै आएका मुर्तिलाई आकर्षक बनाउन उनले भगवानको रूप अनुसार रङ्ग भर्छन् । भगवानको रूप , आकार र भेषभुषा अनुसार मुक्ताझुना रङ्ग भर्ने गरेको उनले बताए । सरस्वती पुजा, दुर्गा पुजा, विश्वकर्मा पुजा, काली पुजा, विवाहको सिजनमा दमक, गौरादह, गौरीगंजलगायत झापाको विभिन्न स्थानबाट विशेष अर्डर आउने गरेको उनले सुनाए ।
काममा उनकी श्रीमती सुनिता मालीले सघाउछिन् । छोराछोरीसहित ४ जनाको परिवारलाई खाना, लुगाफाटालगायत घरधन्दा गरेर बचेको समयमा सुनिता श्रीमानको काममा सघाउन पाउँदा खुशी लागेको बताईन् । उनले भनिन् ‘जग्गा जमिन छैन यहि पेशा गरेर अहिलेसम्म बालबच्चालाई पढाईलेखाई देखि घर व्यावहार चलाउदै आएका छौ, राम्रै छ । ‘ मुर्ति बनाउने पेशासंगै मोहनदेवले आदिवासी तथा मधेसी समुदायको विवाह समारोहमा बेहुला र बेहुलीले टाउकोमा लगाउने एक विशेष प्रकारको फुलको टोपी , फुलघोडा, ठाकुर व्रह्माणी फुल, तिहारमा टांङ्ने आकार तारा, रङ्गी विरङ्गी फुलझडी बनाउने गर्छन् ।