झापामा एक हजार चार सय क्षमताको क्वारिन्टिन

झापा, ३० भदौ । झापामा १ हजार ४ सय जना एकैसाथ राख्न सकिने गरी क्वारिन्टिनको व्यवस्था भएको छ ।

४ सय १४ जनालाई राख्न सकिने गरी आईसोलेसन सेन्टर निर्माण भएको झापामा आईसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या १०५ रहेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा कोभिड १९ को तयारी तथा रोकथामका लागि भएको तयारीबारे सार्वजनिक गरेको विवरण अनुसार २९ वटा क्वारेन्टाईन रहेका छन् । शनिबार साँझसम्मको विवरण अनुसार ७ जनामात्र क्वारेन्टाइनमा रहेका छन् । होम क्वारेन्टाइनमा धेरै रहेका छन् । होम क्वारेन्टाइनमा रहनेको संख्या १७३ रहेको छ ।

चारसय जना क्षमताको होल्डिङ एरिया, आईसियु बेडसंख्या १०५ रहेको छ । हालसम्म २३ हजार ६२५ जनाको पीसीआर परिक्षण गरिएको पनि जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको छ । ७४० जनाको पीसीआर पोजेटिभ रहेकोमा अहिले १०५ जना सक्रिय संक्रमित रहेका छन् । ६३२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

यसैबीच, यता दमकमा ३० बेड क्षमताको आईसोलेसन सेन्टर निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । भुटानी शरणार्थी बेलडाँगी शिविर नजिक आईसोलेसन सेन्टर निर्माण गरिएको नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनुभयो । उहाँका अनुसार यसैसाता भित्र आईसोलेसन सेन्टर निर्माण पूरा हुनेछ ।