अख्तियारले दायित्व निर्वाह गर्न सकेन – ट्रान्सपरेन्सी
काठमाडौं, २८ भदौ । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले निष्पक्षता र निर्भिकतापूर्वक आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तापक्षको दवाव र प्रभावमा परी राजनैतिक नेतृत्वहरुको संलग्नता, निर्देशन वा संरक्षणमा हुने ठूला भ्रष्टाचारका मुद्दाहरु नचलाउने गरी तामेलीमा राख्दै जाने हो भने आयोगको औचित्य पुष्टि गर्न निकै गाह्रो पर्ने जनाएको छ ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले आइतबार विज्ञप्ति जारी गर्दै आयोगले आफ्नो साख जोगाउन पनि प्रशासनिक तहमा हुने भ्रष्टाचारका साथै राजनैतिक नेतृत्व तहको संलग्नता एवं नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रही भ्रष्टाचारीहरु उपर निर्मम कारवाही प्रकृया अगाडि बढाउनु अत्यावश्यक भैसकेको जनाएको छ ।
विज्ञप्तिमा आयोगले हालै तामेलीमा राखेको भनिएको आयल निगमको जग्गा खरिद प्रकरणको फाईल व्युँत्याएर र हाल आयोगमा अनुसन्धानका क्रममा रहेका वाईडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गाहरु यती कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालीन मंत्रीको अडियो प्रकरण र स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमितता सम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रकृया सम्पन्न गरी दोषीहरुलाई अदालतको कठघरामा पु¥याओस जोडदार माग समेत गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै आयल निगमको जग्गा खरिद प्रकरणमा भएको ठूलो अनियमितता सम्बन्धी मुद्दाको फाईल हतारहतारमा तामेलीमा राखिएको समाचारले यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संसदका विभिन्न चारवटा संसदीय समितिहरु, महालेखा परिक्षकको कार्यालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालय समेतले आयल निगमको जग्गा खरिद प्रकरणमा व्यापक अनियमितता भएको तथा प्रचलित कानूनको ठाडो उल्लंघन गरी निगमलाई ठूलो आर्थिक हानी नोक्सानी पुर्याएको भन्ने प्रतिवेदन प्राप्त भएको अवस्थामा थप अनुसन्धान गरी दोषीहरु उपर कडा सजायको मागदावी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा एक अरब रुपैया भन्दा बढी रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई ठाडै उन्मुक्ति दिनेगरी मुद्दाको फाइल बन्दगरी तामेलीमा राख्नुको पछाडि आयोगका पदाधिकारीहरुको कार्यक्षमता र ईमान्दारितामा मात्र होइन नियतमा पनि गम्भीर प्रश्नहरु उठेका भन्दै ध्यानकर्षण गराएको छ ।