ठेक्का विषयमा अर्जुनधारा नगरपालिकाको निर्णय

अर्जुनधारा, २८ भदौ । झापाको अर्जुनधारामा नदीजन्य सामग्रीलाई व्यवस्थित गर्दै ठेक्का लगाउने प्रकृयामा जानुपर्ने सुझाव सर्वदलीय छलफलमा आएको छ । नगरपालिकाको सभा कक्षमा नगर क्षेत्रका राजनीतिक दल, प्रशासन र नगरपालिकाका प्रमुख बीच भएको सर्वदलीय बैठकमा विगतका कमि–कमजोरीलाई सच्याउँदै आयश्रोतको मुख्य बाटो नदीजन्य सामग्रीको ठेक्का लगाउनुपर्नेमा जोड दिइयो ।

छलफलमा नीजि जग्गाधनीलाई पनि सम्बोधन हुनुपर्ने कुरा उठेको थियो । छलफलमा नेकपाका नगर अध्यक्ष प्रेमसागर सापकोटाले ठेक्का लगाउन प्रहरी प्रशासनको सक्रिय सहयोगको आवश्यकता रहेको औंल्याउँदै उनले भने, ‘आज नेकपाको पालो छ, भोलि कांग्रेसको हुनसक्छ त्यो बेला पनि खोला सामग्री ठेक्कामा यस्तै बेतिथि देखाउन मिलदैन ।’

नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेलले खोला ठेक्का लगाउने क्रममा कांग्रेस अवरोध बनेर नआउने बताए । छलफलमा नगर प्रमुख हरिकुमार रानाले सबैलाई सहजता हुने गरी खोला ठेक्का लगाउने प्रक्रियामा गएको बताउँदै सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको औँल्याए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, झापा प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला लगायतले खोला ठेक्का प्रक्रिया अगाडि बढे प्रशासनतर्फबाट सक्दो सहयोग रहने बताए । छलफलले अन्त्यमा खोला ठेक्का लगाउने निचोड निकाल्दै यदि खोला ठेक्का लगाउन नसके खोला क्षेत्रमा पूर्ण लकडाउन गर्ने निस्कर्ष निकालिएको नगर प्रमुख रानाले बताए । छलफलमा प्रदेश सांसद बिर्ख प्रधान, निर्माण व्यवसायी शेरबहादुर थापा, राप्रपा, जनमुक्ति लगायतको प्रतिनिधित्व रहेको थियो ।

नगरले बिरिङ खोलाको ७ र टाङटिङ खोलाको ५, ठुलोनेते खोलामा ५ स्थानमा उत्खनन् गर्न पाइने जनाएको छ । बिरिङ खोलाबाट ९३ हजार, टाङटिङ खोलाबाट ७९ हजार ५० र ठूलो नेतेबाट १४ हजार घनमिटर सामग्री संकलनका लागि नगरले ३ करोड ३५ लाख ८४ हजार न्यूनतम अंक निकालेको प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले जानकारी दिए ।