एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता

तेह्रथुम । एकल महिलालाई मात्र सामाजिक सुरक्षा भत्ता दिदैआएकोमा तेह्थुमको एक पालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । जिल्लाको छथर गाउँपालिकाले एकल पुरुषको तथ्यांक संकलन गरी वार्षिक रुपमा एकमुष्ठ पाँच हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिन थालेको अध्यक्ष सन्तवीर लिम्बूले बताए । एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न आर्थिक वर्ष २०७७।७८ को गाउँसभाबाट नीति तथा कार्यक्रममै बजेटको व्यवस्था गरिएको र त्यसैअनुसार आर्थिक अवस्था कमजोर भएर एकल पुरुषले सामान्य उपचार सेवासमेत पाउन नसकेको र बिहान–बेलुका छाक टार्नसमेत मुस्किल भएकाले त्यस्ता एकल पुरुषको संख्या पहिचान गरी सामाजिक सुरक्षा भत्ता दिन थालिएको उनले जनाए गाँउपालिकाकी उपाध्यक्ष तारा ढकालले यस कार्यक्रमले एकल पुरुषलाई ठूलो राहत मिलेको वताईन् । सन्तान नभएका एकल पुरुषका लागि यो कार्यक्रम थप प्रभाबकारी हुने गाउँपालिकाको भनाइ छ ।

आर्थिक रुपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउन पुरुषको हकमा ७० वर्ष उमेर पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमानको मृत्युपछि राज्यले एकल महिला सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । विपन्न तथा एकल पुरुषका लागि केन्द्र सरकारले कुनै पनि कार्यक्रम ल्याउन नसकिरहेको बेला आफूहरुले एकल पुरुषलाई राहत पुग्ने गरी नेपालमै पहिलो पटक यस्तो कार्यक्रम लागु गरेको अध्यक्ष लिम्बूले दाबी गरे ।

गाउँपालिकाले अघिल्ला वर्षमा ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार दिनुको साथै लौरो उपहार कार्यक्रमसमेत सञ्चालन गरेको थियो । विभिन्न प्रकारका दीर्घरोगीलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म उपचारका लागि आर्थिक सहयोग दिइँदै आएको पनि छ । गाउँपालिकाले विपन्न परिवारका लागि निस्शुल्क मिटर बक्स तथा जस्तापातालगायत विभिन्न कार्यक्रम गाउँपालिकाले सञ्चालन गर्दै आएको जनाएको छ । त्यस्तै जटिल प्रकृतिका बिरामीहरुको घरमै पुगेर गाउँपालिका अध्यक्ष आफैले उद्धार गरी उपचारमा सहयोग पनि गर्दै आएका छन् ।

विवाहपछि कारणवश एकल भएका पुरुषलाई यस्तो भत्ता दिन थालिएको गाउँपालिकाले जनाएको छ । वुढ्यौली उमेरसम्म विवाह नगरी बसेका एकल पुरुषले पनि यो सुविधा पाउनेछन् । यस्ता एकल पुरुषको संख्या प्रत्येक वर्ष थपघट भइरहने भएकाले त्यसका लागि वडा कार्यालयमार्फत संख्या निक्र्यौैल गरिने अध्यक्ष लिम्बूले बताए । कार्यक्रम सुरु भएको पहिलो वर्ष वार्षिक ५ हजार रुपैयाँका दरले भत्ता वितरण थालिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम प्रभावकारी भए आगामी वर्षबाट भत्ताको रकम बढाएर मासिक रुपमै वितरण गरिने अध्यक्ष लिम्बूले वताएका छन् ।