झापामा आज थपिए १४ जना कोरोना संक्रमित

भद्रपुर । झापाको दमक नगरपालिकामा आज संक्रमण देखिएकामा ७ बर्षिय बालकदेखि १०६ बर्षका बृद्धसम्म रहेको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । ७ बर्षीय बालख देखि १०६ बर्र्षीय एक बृद्धसहित ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा ३ पुरुष र ६ महिला छन् । थपिएकामा दमक २ की २६ बर्षिया एक महिला, दमक ७ की ५२ बर्षिया र २० बर्षिया दुई महिला रहेका छन् । त्यसैगरी दमक ९ का ३१, ५० र ७४ बर्षका तिनजना महिला र ७, ७० र १०६ बर्षका तीनजना पुरुष रहेका छन् । संक्रमण देखिने वृद्ध भने दमक –९ का हुन् । यसअघि हिजो एक जना पुरुषमा संक्रमण देखिएको थियो । चार दिन अघि १०५ जनाको नमुना स्वाव संकलन गरि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको थियो । परीक्षणका लागि पठाईएका मध्ये १० जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले वताए । आज नै संक्रमितहरुको सम्पर्कमा रहेका थप ९६ जनाको नमुना स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि प्रतिष्ठानको प्रयोगशालामा पठाईएको उनले वताए ।

यसैक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाले उपलब्ध गराएको जानकारी अनुसार, बिर्तामोडका दुई स्वास्थ्यकर्मीसहित आज झापामा ९ महिला र ५ पुरुष गरी १४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुने स्वास्थ्यकर्मीहरु बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको भएको जनाइएको छ । सो हस्पिटलका २३ वर्षिया एक महिला र ३२ वर्षिय एक पुरुष स्वास्थ्यकर्मीलाई कारोना पोजिटिभ देखिएको हो । त्यस्तै दमक नगरपालिका वडा नं. २, ७ र ९ का २५,३५ र ६६ वर्षका ६ महिला र ३ पुरुष गरी ९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु दमकका स्थानीय हुन् ।

त्यसैगरी मेचीनगर नगरपालिका वडा नं १ र १० का २ महिला र एक पुरुष गरी तीन जनालाई संक्रमण देखिएको छ । ती संक्रमितमध्ये दुईजना भारतबाट फर्केका र एकजना स्थानीय भएको स्वास्थ्य कार्यालयले जनाइएको छ ।