स्कुलले क्लासभित्र पाल्न थाले कुखुरा, खेल मैदानमा लगाए तरकारी

एजेन्सी

विश्वमा कोरोना भाइरसको महामारी फैलिएको ६ महिना बितिसकेको छ । चीन हुँदै विश्वभरि फैलिएको महामारीले व्यापार, यातायात, पर्यटनलगायत सम्पूर्ण क्षेत्रमा असर गर्‍यो। सबैभन्दा बढी असर परेका क्षेत्रमध्ये शिक्षा पनि एक हो । संक्रमण फैलिन सुरू हुनासाथ विभिन्न मुलुकले विद्यालय बन्द गरे । छ महिनादेखि बन्द रहेका विद्यायल अझै खुलेका छैनन्। केही देशले विस्तारै विद्यालय खुलाउन थाले पनि कतिपयले आगामी जनवरीसम्मै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

अरू राष्ट्रजस्तै पूर्वी अफ्रिकी मुलुक केन्यामा पनि कोरोनाभाइरसको संक्रमण फैलिएको छ । कोरोना नियन्त्रणका लागि केन्यामा पनि धेरैजसो क्षेत्रहरू बन्द गरिएका छन् । सरकारले विद्यालय भने जनवरीसम्म बन्द गर्न भनेको छ । लगातारको बन्दले त्यहाँका निजी विद्यालयका लगानीकर्ता र शिक्षक कर्मचारी आर्थिक समस्यामा परेका छन् । कोरोना आउनुअघि स्कुलका कक्षाकोठामा विद्यार्थीहरूले पढ्दै गरेको आवाज सुनिन्थ्यो । अहिले त्यहाँ कुखुरा बासेको सुनिन्छ । कक्षाकोठाको बोर्डमा हिसाबका गुणनको सट्टामा कुखुरालाई दिइने भ्याक्सिनका तालिकाहरू लेखिन थालिएका छन् ।

शिक्षाबाट आम्दानी हुन छोडेपछि केन्द्रीय केन्यन स्कुलका सञ्चालक जोसेफ मैनाले कक्षा कोठामा कुखुरा पालेर पैसा कमाउन बाध्य भएको बताएका छन् । केन्या सरकारले मार्चमा विद्यालयलाई बन्द गर्न निर्देशन दिएको थियो । त्यत्तिबेला उनको बैंकमा ऋण चुक्ता गर्न बाँकी थियो । पहिले त सबै गुमाएँ जस्तो भएको थियो । तर हामीले बाँच्नका लागि विद्यालयलाई केही गर्नु पर्ने सोच्यौं, मैनाले बिबिसीसँग भने । केन्याका निजी विद्यालयका शिक्षकको तलब विद्यार्थीहरूले तिर्ने शुल्कबाट पाउँथे । एकाएक विद्यालय बन्द भएपछि बोर्डिङ स्कुल आफ्ना कर्मचारीलाई तलब दिन नसक्ने अवस्थामा आइपुगेका छन् ।

केन्या प्राइभेट स्कुल्स एसोसियसनका अनुसार केही विद्यालयहरूले अनलाइनमार्फत् पढाइरहेका छन् । तर उनीहरूले पाउने तलबले भने आफ्नो दैनिक खर्च धान्न गाह्रो भएको छ । इन्टरनेटको पहुँच सबैतिर नभएकाले अरू विद्यालयले त अनलाइन कक्षा पनि चलाउन सकेका छैनन् । करिब ९५ प्रतिशत अर्थात् तीन लाख बढी निजी विद्यालयका शिक्षकहरू बेतलबी बिदामा बस्न बाध्य भएको एसोसियसनका प्रमुख कार्यकारी पिटर नडोरोले बताए । त्यस्तै एक सय ३३ विद्यालय त सधैँका लागि बन्द भइसकेका छन् ।

केन्याकै अर्को रोका प्रेपारेटोरी नामक विद्यालयको परिसरमा पनि खेती गर्न थालिएको छ । २३ वर्ष अघि स्कुल खोलेका जेम्स कुङ्ग युले भने, “यस्तो खराब अवस्था यसअघि कहिल्यै आएको थिएन ।” विद्यालयको खेल मैदानमा अहिले उनले तरकारी उब्जाउने गरेका छन् । तरकारी सँगसँगै उनले पनि कुखुरा पाल्न थालेका छन् । “मेरो पनि अरू विद्यालयको जस्तै अवस्था छ । मसँग कारमा पेट्रोल हाल्न पैसा छैन । शिक्षक तथा विद्यार्थीहरू आउन छाडे । मनोवैज्ञानिक रूपमा हामीलाई धेरै असर परेको छ,” उनले भने ।