कर्मचारीकै कारण मेची अस्पताल रमिताघर बन्दै
भद्रपुर । कोरोना उपचार केन्द्र थपिएपछि जनविश्वास गुमाउँदै जाँदा मेची अस्पतालमा उपचार गर्ने विरामीको चाँप घट्दो अवस्थामा छ ।
अस्पतालमा कार्यरत प्राविधिक तथा कर्मचारीको सेवा प्रवाहको विषयमा पटक पटक जन गुनासो बढिरहेको अस्पतालमा आपसी कलहले झनै नकारात्मक असर गरिरहेको छ ।
ल्याव तथा ओपीटी सेवाका अधिकाम्स कर्मचारी आफूले गर्नु पर्ने जिम्मेवारी पूरा गर्न भन्दा अस्पताललाई तलव खाने स्थल बनाएर पहुँचको बलमा अन्यत्र सेवा गर्न जाने गरेका घटना नयाँ होइनन् । राज्यले दिएको दायित्व बिर्सेर जनताको सेवा गर्ने कर्मचारीहरू आपसी मुडेबलमा सेवा बिर्सदै कमाउने खेल खेल्दा समेत व्यवस्थापकीय नेतृत्व गुपचुप बस्ने गर्दा अस्पतालका सेवाहरू थप प्रभावित भइरहेका छन् ।
पछिल्लो पटक ल्याव इन्चार्ज रामचन्द्र झालाई महिला कर्मचारी रचना शर्मामाथि अभद्र व्यवहार तथा हातपात प्रयास गरेको आरोप लागेको छ । घटना विवरण अनुसार शर्मा लगायत ६ जना कर्मचारीले गएको शनिवार विहान कोरोना परीक्षणका लागि स्वाव संकलन कार्यमा खटिएका थिए । ६ महिनायता स्वाव संकलनमा गएका कुनै पनि कर्मचारीलाई त्यस दिन कार्यालयको काममा आउनु नपर्ने नियम बनाइएको थियो । सोही अनुसार रात्रीकालीन ड्युटीमा शर्मा कार्यालयमा आइनन् । इन्चार्ज झालाई ड्युटीमा कर्मचारी नआएको खवर गएपछि फोन मार्फत बुझ्दा काममा नआउने जानकारी पाए । सोही विषयलाई लिएर ल्याव इन्चार्ज झा र कर्मचारी शर्मा बीच आइतवार विहान ड्युटी स्थलमा विवाद हुन पुग्यो । दुवैजना आ–आफ्नो शक्ति प्रदर्शनमा उत्रदा अस्पतालको ल्याव सेवाग्राहीका लागि रमिता सावित हुन पुग्यो ।
त्यहाँ कार्यरत कर्मचारी पनि प्रमुख झा र सहकर्मी शर्मा गरी दुई पक्षमा विभाजित हुँदा सेवा प्रवाह पनि प्रत्यक्ष असर देखिएको छ ।
शर्मा आफूमाथि प्रमुख झाले पटक पटक दुव्र्यवहार गरेको आरोप लगाउँछिन् भने प्रमुख झा शर्माको आरोप झुट रहेको बताउँछन् । सहकमीहरू पनि दुई गुटमा देखिएका कारण प्रष्ट भन्न रूचाउँदैनन् । दुई कर्मचारीको विवाद अस्पतालभित्रै मिलाउने प्रयासमा रहेका मेडिकल सुपरिटन्डन डा. पिताम्बर ठाकुर भने आफू मिटिङमा रहेको भन्दै विवाद प्रकरण बताउन चाहेनन् । अस्पताल भित्रको विवाद मिलाई न्याय दिलाउन शर्मा वडा कार्यालय पुगेकी र भोली (बुधबार) अस्पतालमा यस विषयको छलफल रहेको ८ नं वडा अध्यक्ष मनोज सुब्बाले जानकारी गराउनु भयो ।
भिडियो…….