नेपालमा आज ९८० जना कोरोना संक्रमित थपिए
काठमाडौँ । नेपालमा आज ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २९० महिला र ६९० पुरुष रहेका छन् । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । देशभरका संस्थागत आइसोलेसन ९ हजार २०१ जना र होम आइसोलेसनमा ७ हजार ८२६ रहेका छन् । आजसम्म देशभर ४ हजार ७०३ जना क्वारेन्टिनमा रहेका छन् । आज देशभरका १० हजार ३८२ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ६७ हजार ३४५ पीसीआर परीक्षण भएको छ । नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८१४ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर कुल संक्रमितको ६३ प्रतिशत रहेको छ । नेपालमा आज कोरोना भाइरस संक्रमणाट थप ९ जनाको मृत्यु भएको छ । जसामा दुई जना महिला र सात जना पुरुष रहेका छन् । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ ।