बिर्तामोडका पाँच जनालाई संक्रमण देखिएको सूचना गायब

बिर्तामोड । झापा बिर्तामोडका समुदायका पाँच जनालाई कोरोना संक्रमण देखिएको सूचना लुकाइएको छ ।

हिजो बुधबार बिर्तामोडका ८ जनालाई कोरोना संक्रमण देखिएकोमा तीन जना मात्र संक्रमित भएको बताइयो । जिल्ला स्वास्थ्य कार्यालयले बिर्तामोड ५ र ६ का तीन जनामा संक्रमण देखिएको बताएको थियो भने बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले पनि तीन जनाको मात्र विवरण दिएका थिए । तर, हिजो बिर्तामोडमा समुदायका थप ५ जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमितहरुको रिपोर्ट लुकाइएको हो । बजार क्षेत्रका व्यवसायीहरुको पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । रत्न सुपर मार्केटका सुनचाँदी व्यवसायीको परिवारका दुई जना सदस्यमा भदौ ९ गते संक्रमण देखिएपछि बिर्तामोड नगरपालिकाले दुई सय जनाको परीक्षण गरेको थियो ।त्यसको रिपोर्ट हिजो आएको हो । रिपोर्टअनुसार चार जना व्यवसायी र एक जना बैक कर्मचारीमा संक्रमण देखिएको छ । संक्रमित हुनेमा तमु टोलका तीन जना, विराट एफएम छेउका एक जना व्यवसायी र एनआइसी एसिया बैकका एक कर्मचारी छन् ।

बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काको फेसबुकबाट

बिर्तामोड नगरपालिकाका फोकल पर्सन खड्काले हिजो राति ९ बजेतिर २ सयजनामध्ये बिर्तामोडका ५ जनामा संक्रमण देखिएको विवरण आफ्नो फेसबुकमा पोष्ट गरेका थिए । तर, त्यसलाई उनले कसैको दवावमा राति नै आफ्नो पोष्टबाट हटाएर फेरि सूचना लुकाएका छन् । संक्रमण फैलिएको घटनाबारे सोध्दा उनी आफ्नो फेसबुक हेर्न भन्छन् । तर, उनको फेसबुकबाट त्यो पोष्ट हटाइसकिएको छ । यसबारे जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बिर्तामोडमा ५ जना थपिएको विवरण आफूकहाँ आइनपुगेको बताए । यसअघि पनि बिर्तामोड नगरपालिकाले कोरोना सम्बन्धि सूचना लुकाउने प्रयास गरेको थियो ।