इस्टु भद्रपुरले निर्णायक आन्दोलन सुरू गर्दै बुझायो १५ दिने अल्टिमेटम पत्र
भद्रपुर । निर्णायक आन्दोलनमा उत्रिएको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले प्याब्सन, एन प्याब्सन तथा नगर क्षेत्रमा सञ्चालित विद्यालयलाई १५ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको छ ।
५ महिनायता भोकमरीमा परेका शिक्षक कर्मचारी प्रति जिम्मेवार हुन नसकेका सञ्चालक तथा प्याब्सन, एन प्याब्सनका गतिविधि बिरूद्ध आन्दोलित भएको युनियनले भदौ मसान्त भित्र ३ महिनाको तलव भुक्तानी हुनु पर्ने एक शुत्रीय माग राखेर ज्ञापनपत्र बुझाएको हो ।
बोधार्थ भद्रपुर नगरपालिकालाई समेत बुझाइएको अल्टिमेटम पत्रमा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई बाँच्नका लागि पारिश्रमिक उपलब्ध गराउनु पर्ने ठहर सहित विद्यालय सञ्चालकहरू, प्याब्सन, एन प्याब्सनले राज्यको नीति नियम विपरित चल्नु नहुने अनुरोधका साथ बुझाइएको छ ।
नगर अध्यक्ष द्रोण अधिकारी, उपाध्यक्ष विदुर ढुंगाना, सचिव खिलनाथ पाण्डे तथा प्रदेश सहसचिव राजु वरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ—कोरोना संक्रमण जोखिम तथा बन्दाबन्दीको परिणाम स्वरूप यस भद्रपुर नगर क्षेत्रमा सञ्चालित विद्यालयमा निरन्तर काम गर्दै आएका हामी शिक्षक कर्मचारीहरू २०७७ बैशाखयता अघोषित बेरोजगार भएका छौं । यस अवधिमा पनि हामीले तन मन लगाएर यिनै शैक्षिक प्रतिष्ठानको उन्नयनका लागि केही न केही गतिविधि गरिरहेका छौं तर, हामीले पारिश्रमिक पाउन सकिहरहेका छैनौं । ५ महिने यस अवधिमा कुनै पनि संस्थागत विद्यालयका सञ्चालकहरूबाट आफू मातहतमा कार्यरत शिक्षक कर्मचारीको अवस्था बारे बुझ्ने प्रयास समेत भएको छैन । हामीमाथिको यस व्यवहारलाई काम पर्दा भाँडो नत्र ठाँडोको रूपमा हेरेर अपमानित गरिरहेको अवस्था छ । स्मरण होस् हाम्रा रगत पसिना नबगेका भए सरकारी विद्यालयभन्दा निजी विद्यालय अब्बसल कसरी सावित भए त ? यी विद्यालयमा जोडिएका महल हुन् या जमीन वा यातायातका साधन कसरी फले त ? हामीले गरेको कठोर परिश्रमबाट जोडिएका होइनन् त ?
पाँच महिनायता आम्दानी विहिन भएका हामी श्रमजीवि शिक्षक कर्मचारी तथा हामीमा आश्रित परिवार रोगले होइन भोकले मर्ने अवस्थामा पुगिसकेका छौं । ऋण खोजेर जिउने प्रयास गर्दा पनि हामीलाई ऋण दिने निकाय पाउन सकेका छैनौं । चार्डवार्ड पनि नजिकिँदै छ । बालबच्चा एकसरो लाउने लुगा फेरिदिन अनुरोध गर्न थालिसकेका छन् । बुढा बाबुआमा चाडपर्व कसरी मनाउने भन्दै छटपटाउने अवस्था आइसकेको छ । जीवनका विभिन्न कालखण्ड भित्रका संकट पूर्ण समयहरू मध्ये अहिलेको समय हाम्रा लागि ज्यादै पीँडादायक बनेको अनुभूति भइरहेको छ । बैकल्पिक रोजगार खोजेर विद्यालय छोडेर हिडेका पनि छैनौं । यही विद्यालयको ढोकामा पर्खिरहेका हामीले बाँच्नका लागि अन्यत्र कहा जाने त ? उत्तर खोजिरहेका छौं । सञ्चालक महोदयहरू तपाईहरू विद्यालय सञ्चालन गर्न सक्दैनौं भन्ने मनस्थितिमा पुग्नु भएको भए ताला चाबी राज्यलाई बुझाउनुहोस् । हामी राज्यसित लडेर हाम्रो जीवन बचाउन तयार छौं । नभए नाफा हुँदा आफू मात्र लिने नोक्सान वा कम आम्दानी भए शिक्षक कर्मचारी मार्ने काममा अगाडि नसर्नु हुन सुझाव दिन्छौं ।
तपाईहरूका शैक्षिक प्रतिष्ठानका उन्नतिमा श्रम पसिना बगाइरहेका हामी श्रमिकहरू मर्नु पर्ने अवस्था आउनु भनेको शैक्षिक वातावरणको समूल अन्त्य हुनु हो । यसैले हामी विनम्र अनुरोध गर्दछौं कि हामीलाई बचाउन निरन्तर पारिश्रमिक उपलब्ध गराइ दिनुहोस् । विद्यालयको उन्नतिका लागि विगतदेखि अहिलेसम्म हाम्रो श्रम पसिना निरन्तर बगिरहेको छ । आगामी दिनमा पनि हामी जिम्मेवार भएर उन्नति प्रगतिका लागि श्रम पसिना बनाउने प्रतिबद्धता जनाउँछौं ।
हाम्रो माग : भदौ मसान्त भित्र हामीले खाइपाइ आएको तीन महिनाको तलव निशर्त भुक्तानी गरिदिनु पर्छ ।
माग सुनुवाइ नभए सडक आन्दोलनदेखि तालाबन्दी, भण्डाफोर, सामाजिक बहिस्कारलगायत कठोरअभियान चल्नेछन्— भनेर चेतावनी समेत दिइएको छ ।
भद्रपुर नगर क्षेत्रमा ३३ वटा संस्थागत विद्यालय सञ्चालित छन् भने एक हजार शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।