रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रमा शव भेटियो

झिलझिले । शिवसताक्षी नगरपालिकाको रतुवामाई बन क्षेत्र भित्र भएको हत्याको प्रहरीले अनुसन्धान सुरु गरेको छ । बुधबार विहान रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रमा भेटिएको सव शिवसताक्षी नपा ११ का गोविन मगरको रहेको खुलेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा नेतृत्वको टोली पुगी अनुसन्धानमा जुटेको हो । धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’ को मद्दतबाट अनुसन्धान गरिएको हो । कुकुर शाखाका सई दयानन्द श्रेष्ठको कमान्डमा घटनास्थल पुगेको लैलाले प्रहरी अनुसन्धानलाई सघाएको छ ।

गोविन मगरको शवलाई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लगिएको छ । घटनास्थलबाट करीब २ सय मीटरमाथि मगरले प्रयोग गर्दै आएको प्रदेश ०१–०१–०१२ प ५२२५ को २०० सिसीको एनएस पल्सर बाइक लडाइएको अवस्थामा जंगलमा भेटिएको छ । मृतकसँग रहेको पर्समा केही आवश्यक कागजात र केही नगद समेत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । प्रहरीका अनुसार मृतकको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटेको देखिन्छ । मृतकलाई घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले बताएको छ । घटनास्थलमा उनको साथमा बाइकको हेल्मेट रहेको थियो ।

मृतक मगरले चलाएको मोटरसाइलक घटना स्थलदेखि सय मिटर पर रहेको प्रहरीले जनाएको छ । मगर ६ महिनाअघि मात्र वैदेशिक रोजगारका क्रममा बहराइनबाट आइ सोही बेला नै विवाह गरेको पारिवारिक स्रोतले जनाएको छ । मगर लकडाउनका कारण घरमै रहेका थिए । गोविन मंगलबार बेलुकीदेखि बेपत्ता थिए । परिवारले झिलझिले प्रहरीमा मगरको खोजी गरिदिन जानकारी गराएका थिए । धारिलो हतियार प्रहार भएको मृत अवस्थामा बुधबार बिहान १० बजे सब भेटिएको हो । सतासीधामको रतुवामाई वृक्षारोपणका बन रक्षकले उक्त शव देखेर प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डीतले जानकारी दिए ।