संघीय लिम्बुवान मञ्च नेपालको बिज्ञप्ति

बिर्तामोड । झापामा मुस्लिम समुदायमाथि घटेको घटनाप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालले एक बिज्ञप्ति जारी गरी आपत्ति जनाएको छ । गत बुधवार दक्षिणी झापा गाउपालिका–३ कामाटोलीमा प्रहरीको गोली लागि मृत्यु भएका रफिकुल आलमको घटनालाई लिएर मञ्चले आपत्ति जनाएको हो ।

प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि कामाटोली तथा झापा गाउँपालिका क्षेत्र २ दिनसम्म तनावग्रस्त भएको थियो । कामाटोली ३ मा बहर गोरु काटेको आरोपमा दुई मुस्लिम नागरिकलाई प्रहरीले पक्राउ गरेपछि सो क्षेत्रमा तनाव सिर्जना भएको थियो ।

मुलुक धर्म निरपेक्षतामा प्रवेश गरिसकेको अवस्थामा यो घटनाले कानूनी राज्यको धज्जी उडाउँदै दण्डहिनतालाई अंगिकार गरेको मञ्चको बुझाई रहेको मञ्चका झापा अध्यक्ष धनवहादुर पन्धाकले विज्ञप्ती जारी गरि जानकारी दिएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘धर्म निरपेक्षता भन्नु नै सबै धर्मको उच्च सम्मान गर्दै सबै जात जातिलाई धार्मिक रुपमा समान सहभागिता दिलाउनु हो ।’ कुनै धर्म, मूल्य र मान्यतालाई राज्यले काखा र पाखा गर्नु धर्म निरपेक्षताको मूल मर्मको बिरुद्धमा जानु भएको उल्लेख विज्ञप्तीमा छ ।

मञ्चले सो घटनाको निष्पक्ष छानबिन गरी दोषिमाथि प्रचलित कानुन बमोजिम हदै सम्मको कार्यवाही गर्नु पर्ने, पिडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने, मृतकलाई शहिद घोषणा गर्नु पर्ने तथा घटनाको निष्पक्ष छानबिनको निमित्त यथासिघ्र संघीय छानबिन समिति गठन गरि चाँडो भन्दा चाँडो सत्य तथ्य सार्बजानिक गर्न सम्बन्धित निकायलाई अपिल समेत गरेको छ ।

विज्ञप्तीमा भनिएको छ ‘यदि यो घटनाप्रति सम्बन्धित पक्षले वेवास्था गरि दण्डहिनतालाई बढवा दिएको खण्डमा पार्टी आन्दोलित हुन बाध्य हुन छ ।’ पार्टी आन्दोलीत भई कुनै किसिमको क्षति भए त्यसको सम्पूर्ण जिम्मा सम्बन्धित पक्ष हुने बिज्ञप्ती जारी गरी जनाइएको छ ।