दमक र कमलमा निषेधाज्ञा थप

भद्रपुर । झापाको दमक नगरपालिकामा आज १६ जना स्थानीयमा कोरोना संक्रमित पुष्टि भएकाले जारी रहेको निषेधाज्ञा अरु ७ दिन थपिएको छ । आज बसेको कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै यस अघि पनि सात दिन म्याद थपिएर भोली १३ गते सम्म कायम निषेधाज्ञालाई बढाएर २० गते सम्म कायम राख्ने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञालाई यस अघिको भन्दा थोरै खुकुलो बनाउने निर्णय भएको छ । यस अघि दुध पसललाई समेत बिहान दुई घण्टा मात्र खोल्द दिईएकोमा अब भने बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म पसल तथा ब्यवसाय खोल्न पाइने भएको छ । यस्तै दैनिक उपभोग्य समाग्री खरिद गर्न तोकिएको पसलमा गई सामाजिक दुरी कायम गर्दै सुरक्षाका उपाय अपनाई किनमेल गर्न पाइने तर भिडभाँड गर्न नपाइने बताईएको छ ।

औषधी पसलहरु खुल्लै रहने तथा अस्पतालहरुले अतिआवश्यक सेवाबाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । यस्तै दमक ६ मा रहेको नयाँ सब्जीबजार पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । दैनिक उपभोग्य सामाग्री भने बिहान ६ बजे देखि ९ बजेसम्म ढुवानी गर्ने समय तोकिएको छ । २५ जना भन्दा बढी मलामी जान पाइने छैन । निषेधाज्ञाको अनुगमन गरि नियम उल्लघन गरेको पाईए कडा कारबाही गरिने दमक नगरपालिकाले आज बिज्ञप्ति जारी गरी जनाएको छ ।

यसैगरी दमकसंग सीमाना जोडिएको कमल गाँउपालिकामा पनि स्थानीयमा कोरोना संक्रमण फैलिएकोले जारी निषेधज्ञा थपिएको छ । भोलिदेखि पुनः भदौ २० गतेसम्म निषेधज्ञा थप्ने निर्णय गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले वताए । कमलमा जारी निषेधज्ञा आज सकिदै थियो । आज विहान गाँउपालिकाको कार्यपालिकाको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधज्ञा लम्ब्याउने निर्णय गरिएको हो । निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जनाएका छन् ।