कुलमान लोकप्रिय कि सरकार ?

नेतृत्व सम्हालेको ३ वर्षे अवधिमा सरकार जति अलोकप्रिय बन्दै गयो त्यसलाई बिर्साउँदै पछिल्लो ४ बर्षे कालखण्डमा कुलमान घिसिङ लोकप्रियताको शिखरमा छन् । कुलमानले जुन संस्थाको नेतृत्व सम्हाले त्यस संस्थाले नागरिकलाई दिनुपर्ने सेवा सरकारको नेतृत्वले दिन सकेन । उनी भन्दा अघिका नेतृत्वहरूले देश र जनतामाथि घात गर्दै विद्युत प्राधिकरणलाई कमाउने थलो बनाएर निरन्तर शोषणको केन्द्र बनाइरहे । जलश्रोतको धनी देशका नागरिक चकमन्न अध्यारोमा जुनकिरीको प्रकाश हेरेर उज्यालो महसुश गर्नु पर्ने बाध्यता तोड्दै कुलमानले जल विद्युतको उज्यालोले देश झलमल्ल बनाइ दिए । अठार घण्टासम्म लामो लोडसेडिङले आहत भएका मुलुकबासीलाई झण्डै पूर्ण रूपमा उज्यालो दिए । उनीभन्दा अघिका नेतृत्वमा बस्नेहरूको नियत मै खोट थियो कि नीतिमा ? नागरिकले खोजी गर्ने दिन सुरू भइसकेको छ । मुलुक चलाउने सक्षम नेतृत्व भएको भए टुकीको उज्यालोमा रात बिताउनु पर्ने थिएन होला । जलश्रोतको धनी देश नेपाल भनेर पुस्तकमा मात्र पढ्नु पर्ने अवस्था हुदैन थियो होला ।

चार वर्षअघि बरिष्ठहरूलाई पन्छाउदै कनिष्ठ भनिएका कुलमानले विद्युत प्राधिकरणको नेतृत्व संम्हालेपछि कसरी चामत्कारीक रूपमा परिवर्तन सम्भव भयो त ? यसले पक्कै पनि उनीभन्दा अघिका नेतृत्वले मुलुक र नागरिक प्रति घात गरेका थिए भन्ने प्रष्ट्याएको छ । व्यक्तिगत फाईदाका लागि नागरिकको खुशीलाई बन्धक बनाए । जसका कारण उनीहरू आज नागरिकको नजरमा गिरेका छन् । दायित्व मात्र निर्वाह गर्दा कुलमानको उचाई अग्लिएको छ । नेपाली समाज यति भावनात्मक छ कि अब नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कुलमान बाहेकको बिकल्प नै देख्न छाडिसकेका छन् । कुनै एक सार्वजनिक संस्थानको नेतृत्व परिवर्तन समान्य कुरा हो तर सामाजिक सञ्जालदेिख घरघरमा यस बारेमा चर्चा भै रहेको छ । यसको मुख्य कारण भनेकै राजनीतिले राष्ट्र उन्नतिको नेतृत्व लिन नसक्नु हो । बलियो जनमत पाएको सरकार देश र जनताको उन्नति हुने कुनै उल्लेखनीय काम गर्न सक्दैन तर त्यही सरकारको एउटा विभागको सामान्य कर्मचारीले दशकौंै देखिको जटिल समस्या केही वर्ष मै हल गर्न सक्छ । यस आधारमा नागरिक स्तरको सहानुभूति सरकारप्रति वितृष्णा र कुलमानप्रति सम्मानको भाव भएर उर्लेको हो ।

अरू पनि थुप्रै सार्वजनिक संस्थानहरू छन् । तीनमा नेतृत्व परिवर्तन भैरहन्छन् । खासै कसैको पनि चासो हुदैन । पद्धतिको विकास भैसकेका संस्थाहरूमा नेतृत्वमा कोही आए पनि खासै फरक पर्दैन तर पद्धतिको विकास नै हुन नसकेका वा नदिइएका संस्थाहरूमा एउटा व्यक्तिमाथि कति विश्वास उत्पन्न हुन्छ भन्ने उदाहरण बनेका कुलमान सुविधा जनक बहुमत पाएको नेकपा सरकार भन्दा चर्चित र सम्मानित भए । समाजले कुलमानलाई यसरी देवत्वकरण गरिसक्यो कि उनी बाहिरिएपछि उज्यालो पनि सँगै बाहिरन्छ । कुलमानप्रति नागरिकको विश्वास भनेको राजनैतिक नेतृत्वप्रतिको अविश्वास पनि हो । विद्युत प्राधिरणले त सही नेतृत्व पायो होला तर देश चलाउने ठाउँमा पुगेका नेतृत्व सही भएनन् । असफल भएको संस्थालाई कुशल नेतृत्वले कसरी सक्षम बनाउन सक्छ भन्ने उदाहरण बनेका कुलमानबाट राजनीति गर्नेले सिक्नु पर्ने भएको छ । यति वर्ष जेल बसेँ, यतिवटा आन्दोलनको नेतृत्व गरेँ भनेर देशको कायापलट नहुने रहेछ । समृद्ध नेपाल सुखी नेपाली नारा जप्ने होइन समाजले पत्याउने काम गरेर देखाउनेहरू नै नागरिकका मनमा बस्न सक्छन् । पदीय हैसियतमा रहुन् या नरहुन् कुलमान सरकार भन्दा चर्चित छन् । यो चर्चा बल या शक्तिले कमाएको नभएर कुशल नेतृत्व क्षमताले आर्जेको हो । जहाँ बहुमतको दम्भ वा सत्ताको धङधङे छैन ।